पञ्जीकरण विभागले दियो प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचयपत्र



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले ओलीलाई परिचयपत्र हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र हस्तान्तरण गरिएको छ ।

सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार राष्ट्रका विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पाँचथर जिल्लाका ८० प्रतिशत जनतालाई उक्त परिचयपत्र दिने कार्यक्रम रहेको थियो ।

विभागले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिसकेको छ । सरकारले आगामी दुई वर्षभित्र मुलुकका सबै नागरिकलाई यो परिचयपत्र वितरण गरिसक्ने योजना बनाएको छ ।


क्लिकमान्डु