सिटिजन्स बैंकले सहयोगी विकाश बैंकलाई प्राप्ति गर्ने




काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसेनलले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त सहयोगी विकाश बैंकलाई प्राप्ति गर्ने भएको छ ।

दुबै बैंकबीच प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकको मुख्य कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक पवित्र कुमार कार्की र सहयोगी विकाश बैंकका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्ली प्रकाश घिमिरेले हस्ताक्षर गरेका छन ।

२०७६ असार २१ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सहयोगी विकाश बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ७५ अर्ब ६८ करोड रुपैयाँ पुग्ने छ भने सर्वसाधारणमा दिएको ऋण लगानी ६८ अर्ब ४७ करोड रुपैयाँ पुग्ने छ । हालको सिटिजन्स बैंकको चुक्ता पूँजी ८ अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने सहयोगी विकाश बैंकको चुक्ता पूँजी ५० करोड ९६ लाख रुपैयाँ रहेको छ । प्रारम्भिक सहमति अनुसार, सहयोगी विकाश बैंकले एक कित्ता बराबर ९० रुपैयाँ पाउनेछ तथापि वास्तविक शेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदनद्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको छ ।

धनुषा, महोत्तरी र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको यस सहयोगी विकाश बैंकले १४ वटा शाखाहरू बाट बैंकिंग सेवाहरू प्रदान गर्दै आएको छ । यी तीन जिल्लामा हाल सिटिजन्स बैंकको ९ वटा शाखाहरू संचालनमा रहेकोमा यस बैंकको प्राप्ति संगै २३ वटा शाखाहरू संचालनमा आउने छन् जसबाट यस क्षेत्रका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

त्यस्तैै सिटिजन्स बैंकले प्राप्ति पश्चात देशैभरी फैलिएका आफ्ना ९५ वटा शाखा, ८० वटा ए.टि.एम. र १०० वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।


क्लिकमान्डु