बिग मर्जरमा एनआइसी एशिया चुपचाप किन ? सीइओ न्यौपाने भन्छन्- यस्तो रणनीति बनाउँदैछौं



काठमाडौं । यतिबेला बैंकहरु धमाधम मर्जरका लागि जोडी खोजिरहेका छन् । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले गत असार १२ गते मौद्रिक नीतिअघि नै मर्जरको कमिटमेन्ट राष्ट्र बैंकमा पेश गर्न निर्देशन दिएपछि बैंकहरु जोडी खोज्न तातिएका हुन् ।

अधिकांश बैंकले सञ्चालक समितिको बैठक गरेर मर्जरको रणनीति तयार पारिरहेका छन् । कतिपय बैंकले मर्जर कमिटि गठन गरेर प्रक्रिया अघि बढाइसकेका छन् ।

झन्डै दर्जन बैंकहरु एकआपसमा मर्जरका लागि धेरैवटा डिल गरिसकेका छन् भने अरु बैंकहरु मौद्रिक नीतिमा के आउँछ भनेर कुरेर बसिरहेका छन् ।

केही बैंकको डिल अन्तिम चरणमा पुगिसकेको छ । गभर्नरको निर्देशनपछि बैंकिङ क्षेत्रलाई मर्जको माहोलले तताएको छ ।

बैंकहरु मर्जरका लागि धमाधम जोडी खोजिरहेको समाचारहरु बाहिरिरहेको बेला एनआइसी एशिया बैंकको बारेमा भने कुनैपनि प्रकारका समाचार तथा हल्लाहरु बाहिर आएका छैनन् ।

एनआइसी र बैंक अफ एशिया आपसमा गाभिएर एनआइसी एशिया बैंक बनेपछि आक्रमक बजार विस्तामा होमिएको यो बैंकले पछिल्ला दुई वर्षमा चमत्कारिक प्रगति गरेर देखाएको छ ।

लाखौ व्यक्तिहरु आवद्ध भएकाले एनआइसी एशिया बैंकप्रति ठूलो चासो छ । यो बैंक मर्जरमा जाला कि नजाला ? गयो भने कुनसँग जाला ? हाम्रा पाठकहरुले हामीलाई प्रश्न गरेपछि हामीले बैंकका अधिकारीहरुलाई सोधेका थियौं ।

केहीदिन अघि बसेको बैंक सञ्चालक समितिको बैठकले मर्जरको जोडी खोज्ने जिम्मा व्यवस्थापनलाई दिएको छ । यद्यपि सञ्चालकहरुले पनि जोडी नखोज्ने भने होइनन् ।

बैंकका सीइओ रोशन न्यौपानेका अनुसार विगतमै दुई वाणिज्य बैंक आपसमा गाभिएर बनेको यो बैंकले तत्काल मर्जरमा जाने रणनीति बनाएको थिएन । तर, राष्ट्र बैंकले मर्जरमा जानू भनेर निर्देशन दिएपछि मात्रै सञ्चालक समितिको बैठकले मर्जरको ढोका खुल्ला गरेको हो ।

‘हाम्रो बैंकको सोच मर्जरमा जाने थिएन तर नियामक राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई मर्जरमा जान निर्देशन दिइसकेको अवस्थामा हामीले उक्त निर्देशन मान्नै पर्छ भनेर मर्जरको ढोका खुल्ला गरेका छौं,’ सीइओ न्यौपानेले क्लिकमाण्डूसँग भने, ‘कसरी अघि बढ्ने भनेर सञ्चालक समितिभित्र छलफल भइरहेको छ, हामी रणनीति बनाइरहेका छौं ।’

मर्जरको ढोका खुल्ला गरिसकेपछि पहिलो चरणमा आधा दर्जनजति संभावित जोडीको पहिचान गर्ने र पहिचान गरिएका जोडीको विस्तृत अध्ययन गर्ने उनले जानकारी दिए । त्यसपछि मात्रै कुनै बैंकलाई मर्जरका प्रस्ताब गर्ने भनेर निष्कर्शमा पुगिने न्यौपानले बताए ।

‘हाम्रा लागि कुन संस्था उपयुक्त हुन्छ भनेर पहिचान गरिरहेका छौं, अत्यत्नै छोटे अवधि भएकाले संस्थाको पहिचान भइ सकेको छैन,’ उनले भने ।

बैंकमा मर्जरपछिको इफिसिएन्सीको विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।

‘राष्ट्र बैंकले तोकेको समयमा पार्टनर खोजेर कमिटमेन्ट बुझाउन संभव छैन,’ न्यौपानेले भने, ‘हामी मर्जरमा खुल्ला छौं र उपयुक्त जोडीको पहिचान गरिरहेका छौं भन्ने कमिटमेन्ट मात्रै बुझाउन संभव छ ।’

बैंकले मर्जरका लागि कमिटि भने गठन गरेको छैन । केही दिनको छलफलपछि मात्रै मर्जरको कमिटि गठन हुने बैंकका अधिकारीहरु बताउँछन् ।

यसको अर्थ यो बैंक पनि मौद्रिक नीतिमा के आउँछ भनेर पर्ख र हेरको अवस्थामा छ ।

बैंकका सूचना अधिकारी अर्जुन खनियाँका अनुसार अहिले बैंकभित्र मर्जरमा कसरी जाने भनेर आन्तरिक छलफल भइरहेको छ । आन्तरिक छलफल सकिएपछि तीब्र गतिमा मर्जरको कुराकानी अघि बढ्छ ।

‘सञ्चालक समिति र व्यवस्थापनले मर्जरमा कसरी अघि बढ्ने भनेर छलफल गरिरहेको छ, छलफल सकिएपछि हामी रणनीति बनाएर फास्ट ट्र्याकमा अघि बढ्छौं,’ खनियाँले क्लिकमाण्डूसँग भने ।


पुष्प दुलाल