‘मेगा रेमीट’ सेवा अब इजरायलबाट पनि
काठमाडौँ । मेगा बैंकले इजरायलबाट पनि रेमिट्यान्स सेवा शुरु गरेको छ । ‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा इजरायलमा सेवा विस्तार गरेको बैंकले जनाएको छ ।
इजरायलको ग्लोबल मनी ट्रान्सफर (जीएमटी) सँगको साझेदारीमा मेगा बैंकले इजरायलमा मेगा रेमीटको सेवा विस्तार गरेको हो । जीएमटीसँगको साझेदारीपछि इजरायलमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ ।
जीएमटीका २ सय ४० वटा शाखाबाट नेपालीहरुले नेपालमा मेगा रेमीटमा रकम पठाउन सक्नेछन् । नेपालीहरुले इजरायलबाट पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ ।
मेगा बैंकले ‘मेगा रेमीट’ सेवालाई संसारका बिभिन्न देशहरुमा जोड्ने क्रमलाई तीव्रता दिएको छ । अन्य देशहरुमा पनि यसैगरी रेमीट सेवा विस्तार गर्ने बैंकको योजना छ ।