प्रधानमन्त्री ओलीले भने-जनतालाई भ्रममा राखेर भडकाउने, अल्मल्याउने दिन सकिए
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाइ भ्रममा राखेर भडकाउने र अल्मल्याउने दिन सकिएकाे बताएका छन । सरकार देशमा रहेका हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढेको समेत उनले बताएका छन ।
भक्तपुरमा आयोजना भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको उद्घाटन गर्दै उनले हरेक समस्याको समाधान पहिल्याउँदै सरकार अगाडि बढेको बताएका हुन । प्रधानमन्त्री ओलीले भने, “रोजगारीका लागि विदेशमा ४० लाख युवा भौतारिरहेका छन, सरकार के हेरेर बसिरहेको छ भन्नेलाई सरकार समाधानको बाटो खोजेर अगाडि बढेको छ, यो कार्यक्रम त्यसैको एउटा नमूना हो ।”
यो महाअभियानको भव्य शुरुआत भएको बताउँदै उनले यो कुनै गोष्ठी नभई कामबाटै शुरु भएको अभियान भएको धारणा व्यक्त गरे । प्रधानमन्त्री ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउन लागिपरेको उल्लेख गर्दै प्रत्येक प्रदेश, नगर र गाउँपालिकालाई डिजिटलमय बनाउने बताए ।
काम नपाएर अब कोही पनि नेपाली विदेशिनु नपर्ने बताउँदै उनले सबैलाई देशमै रोजगारी दिने बताए । प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको महान अभियानको एउटा दृष्टान्तको रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको चर्चा गर्दै देशमा अब कोही पनि भोकै बस्नुपर्ने र भोकले मर्नुपर्ने अवस्थाको अन्त्य हुने बताए ।
सरकारले बालकदेखि ज्येष्ठ नागरिकसम्मको जीवन सुरक्षाको कार्यक्रम सञ्चालन गरेकाले अब कसैलाई समस्या नपर्ने बताउँदै उनले सरकारले शुरु गरेको महान अभियानदेखि आत्तिएर केही प्रतिक्रियावादी तत्वहरु सक्रिय रहेको धारणा व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले भने, “अब जनतालाई भ्रममा राखेर भड्काउने र अलमल्याउने दिन सकिएको छ ।” मुलुकमा क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउने, लुटपाट गर्ने पनि सक्रिय रहेको भन्दै उनले हिंसा र आतङ्कतर्फ लागेको तत्वहरु सफल नहुने बताए । प्रधानमन्त्री ओलीले २०४ वर्ष देशलाई अँध्यारोमा राख्ने राजतन्त्र फेरि चाहियो भन्ने मुर्खसमेतको केही नलाग्ने बताए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले कटुञ्जेको सवुर्ण चोकदेखि तीनधारा जाने सडक निर्माणको शुभारम्भ गर्दै कार्यक्रमसँग आबद्ध भएका युवालाई साबेललगायत उपकरण हस्तान्तरण गरेका थिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ ल्याएको बताउँदै चालू आर्थिक वर्षमा आंशिक रुपमा यो कार्यक्रम सञ्चालन भए पनि आगामी वर्षबाट कम्तीमा पाँच लाख बेरोजगार युवालाई व्यवस्थितरुपमा रोजगारी दिने गरी देशैभरि यो कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । उनले शिक्षित र अशिक्षित दुवै वर्गका लागि सरकारले रोजगार कार्यक्रम अगाडि सारेको बताए ।
यो कार्यक्रमबाट भक्तपुरका करीब ७५० बेरोजगार युवालाई रोजगारी पाएका छन । करीब एक हजार ५०० युवाले भने बेरोजारको सूचीमा नाम दर्ता गराएका थिए । मन्त्री विष्टदेखि पूर्वमन्त्री बस्नेत र नगरप्रमुख, जनप्रतिनिधि एवं सूचीकृत भएका रोजगार प्राप्त दस्ताले आजै सडक खनेर कामको शुरुआत गरेका छन । रासस