नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण, अर्थमन्त्रीलाई ढाडस



काठमाडौं । विश्व बैंकले अर्थमन्त्री डा. युवराज खतिवडालाई ठूलो ढाडस दिएको छ । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७.१ प्रतिशत वृद्धिदर हुने संशोधित प्रक्षेपण गर्दै विश्व बैंकले अर्थमन्त्री खतिवडालाई सहज बनाइदिएको छ ।

अर्थमन्त्री खतिवडाले नै चालु आर्थिक वर्षमा ७ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुने संशोधित प्रक्षेपण गरेका थिए । प्रायः जसो सरकार र अर्थमन्त्रीले गरेको प्रक्षेपणभन्दा कम प्रक्षेपण गर्ने दातृ निकाय गर्दथे ।

यसपटक भने विश्व बैंकले अर्थमन्त्रीले गरेको भन्दा बढी प्रक्षेपण गरेको हो ।

बिहीबार राजधानीमा आयोजित विश्वबैंकको कार्यक्रममा नेपाल डेभलमपेन्ट अपडेट सार्वजनिक गर्दैै विश्वबैंकले मूल्यवृद्धि भने ४.१ प्रतिशत हुने अनुमान गरेको छ ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले दीगो विकासका लागि तीव्रगतिमा काम गर्नुपर्ने धारणा राखे । ‘अहिलेको भइरहेको ठोस विकास ठीक छ, तर यसलाई दीगो बनाइ राख्नु जरुरी छ’ उनले भने ।

डिजिटल टेक्नोलोजीको प्रयोगमा धेरै सम्भावना रहेको बताउँदै खतिवडाले आर्थिक विकासमा समानुपातिक सहभागिता आवश्यक रहेको बताए । उनले राजस्व संकलनमा भन्सारमा मात्रै आश्रीत नभइ आन्तरिक उत्पादनमा बढी जोड दिनुपर्ने तर्क गरे ।

दुई अंकको आर्थिक वृद्धिदरलाई लक्ष्यप्राप्तीका लागि अहिले दीगो विकास जरुरी रहेको र वर्तमान अवस्थामा त्यसको सकारात्मक प्रभाव देखिएको उनले तर्क गरे ।

चालु आर्थिक वर्षमा व्यापार घाटा उच्च रहे पनि सन् २०३० को लक्ष्य प्राप्तीका लागि उच्च गतीमा वृद्धि गरिनुपर्ने विश्व बैंक नेपालकी वरिष्ठ अर्थशास्त्री केन एजिमेनारीले बताइन् ।

आर्थिक वृद्धिदरमा सेवा तथा कृषि जन्य वस्तु प्रमुख योगदान रहेको उनले बताइन् । उनका अनुसार बजारमा निजी लगानी र प्रयोग प्रभावशाली देखिएको छ ।

कार्यक्रममा बोल्दै विश्व बैंकका दक्षिण एसिया अर्थशास्त्री हेन्स टिमरले नेपालका लागि कमजोर निर्यात, अस्वस्थ प्रतिष्पर्धाको बजार र बजारमा महिला सहभागिता निकै कम हुनु नेपाली अर्थतन्त्रका लागि चूनौति रहेको बताए ।

उनले यसका लागि नेपाली अर्थतन्त्रले डिजिटल टेक्नोलोजीको प्रयोग, एसियामा बजार विस्तार तथा दुई ठूला अर्थतन्त्र भएका छिमेकी चीन र भारत जस्ता देश हुनु अर्थतन्त्र विकासका लागि अवसर भएको समेत बताए ।


क्लिकमान्डु