पूर्वअर्थमन्त्री डा. महत भन्छन्- बजेट संघीय प्रकृतिको भएन, भावी पुस्तालाई ऋण मात्रै बोकाउँछ



काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको बजेट संघीय प्रकृतिको नभएको आरोप लगाएका छन् ।

बिहीबार राजधानीमा आयोजित बजेट समीक्षा कार्यक्रममा बोल्दै महतले भने, ‘बजेट पपुलिस्ट भयो, संघीय प्रकृतिको भएन, यो कार्यान्वयन गर्न समस्या हुन्छ ।’

पूर्वअर्थमन्त्री डा. महत भन्छन्- राष्ट्रलाई बोझ बढाउने प्रचारमूखी र हावादारी बजेट

वितरणमूखी बजेटले आगामी पुस्तालाई ऋणको भार बढाउने उल्लेख गर्दै उनले तरलता समेत बढाउने बताए । अर्थमन्त्री डा. युवराज खतिवडा र सरकार लोकप्रिय हुने नाममा बजेटमा रेल र जहाजलाई प्राथमिकतामा राखिएको बताए । अहिले रेल र जहाज चाहिएको हो कि १२ महिना नै चल्ने मोटर बाटो चाहिएको हो ? भन्दै प्रतिप्रश्न गरे ।

महतले पहिले आधारभूत विकास गरेर त्यसपछि मात्रै रेल र जहाजका लागि प्राथमिकतामा राख्नुपर्नेमा बजेट चुकेको बताए । बजेटमा लोकप्रिय हुने नाममा स्थानीय तहले गर्ने कामलाई पनि केन्द्रबाटै हुने जस्तो गरी बजेट ल्याइएको उनले आरोप लगाए ।

भने, ‘स्यानेटरी प्याड स्थानीय तहबाट वितरण हुने हो, केन्द्रबाट होइन, तर लोकप्रिय हुने नाममा यसलाई पनि बजेटमा समावेश गरियो ।’
यस्ता काममा केन्द्रले अनुदान दिन सक्ने तर केन्द्र आफैले नगर्ने उनको भनाइ छ ।

त्यस्तै, कांग्रेसको सरकार भएको समयमा ल्याइएको ‘उज्यालो सूदुरपश्चिम’ कार्यक्रम ल्याएको थियो, त्यसैलाई नाम परिवर्तन गरी ‘अध्याँरोमुक्त प्रदेश’ बनाइएको उनले बताए ।

साथै पपुलिस्ट हुने नाममा बजेटमा राष्ट्रपति र प्रधानमन्त्रीका नाममा बढी नारा लगाइएको उनले आरोप लगाए । त्यस्तै, मदन भण्डारीका नाममा बढी आयोजना हुनुले यो प्रचारमूखी बजेट भएको बुझ्न गाह्रो नहुने महतले बताए ।

तर प्रतिपक्षीलाई फकाउने गरी पनि केही कार्यक्रमहरु ल्याइएको महतले बताए । साथै विदेशी ऋण धेरै भएको र त्यसले ऋणको भारी बोकाउने उनको विश्लेषण छ । सरकारले ३ खर्ब विदेशी र २ खर्ब स्वदेशी ऋण लिने बजेटमा उल्लेख छ ।


क्लिकमान्डु