पूर्वअर्थमन्त्री डा. महत भन्छन्- राष्ट्रलाई बोझ बढाउने प्रचारमूखी र हावादारी बजेट



काठमाडौं । पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता डा. रामशरण महतले सरकारले ल्याएको बजेट राष्ट्रलाई बोझ बढाउने र प्रचारमूखी भएको टिप्पणी गरेका छन् ।

अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बजेटबारे क्लिकमाण्डूसँग प्रतिक्रिया दिँदै महतले भने, ‘सरकारले आफ्नो क्षमता विर्सिएर महत्वाकांक्षी बजेट ल्याएको छ त्यसैले यो कार्यान्वयन हुन सक्दैन ।’

त्यस्तै, बजेट संघीयताको मर्मअनुरुप नहरेको पनि महतको बुझाइ छ ।

‘संघीयताको मर्म विपरित सरकारले कार्यक्रमहरु राखेको छ,’ उनले भने, ‘जसकारण सरकारलाई कामभन्दा बढी प्रचार चाहिएको छ भन्ने प्रष्ट हुन्छ ।’

अनावश्यकरुपमा बजेटको आकार बढाएर वित्तीय अनुशासन उल्लंघन गरेको उनले बताए ।

‘कृतिमरुपमा आकार बढाएर सरकारले वित्तीय अनुशसनको उल्लंघन गरेको छ,’ महतले भने, ‘जथाभावी आकार बढाएर वितरण र उपभोगमा खर्च गरेर मुलुकको सम्मृद्धि हुँदैन । राष्ट्रलाई बोझ बढाउने काम मात्रै भएको छ ।’

यसअघि घोषणा गरिएको कार्यक्रमहरु के कति कार्यान्वयन भए भन्ने समीक्षा नगरी महत्वाकांक्षी बजेट ल्याएको उनको भनाई थियो ।

‘यसअघिका घोषणा कार्यान्वयन गर्न नसक्ने तर घोषणामाथि हावादारी घोषणा गरेर जनतालाई भ्रममा राख्न खोजिएको छ,’ महतले भने, ‘पहिलो त यो बजेट कायाृन्वयन हुनै सक्दैन, दोस्रो कार्यान्वयन भयो भने पनि मुलुकलाई हित गर्दैन ।’

प्रत्येक वर्ष वितरण र उपभोगमा बजेट बढाउँदा कालान्तरमा मुलुकको अर्थतन्त्र टाट पल्टिनेतर्फ सरकारले नसोचेको उनको आरोप छ ।

‘यो त तातै खाऔं जलि मरौं जस्तो भयो,’ उनले भने ।


क्लिकमान्डु