राजश्व नउठेपछि तनाबमा अर्थमन्त्री खतिवडा, देशभर खटाए ८ सदस्यीय अनुगमन टोली



काठमाडौं । सरकार चालु आर्थिक वर्षको राजश्वको लक्ष्य भेट्टाउन नसकेर हैरान भएको छ । आर्थिक वर्ष सकिन अब ५९ दिन बाँकी छ । यो आज (आइतबार) सहितको हिसाब हो ।

राजश्व बढेको छैन भन्दा २१ प्रतिशतले बढेको छ । तर लक्ष्य पुग्न सक्ने अवस्थामा छैन ।

प्रधानमन्त्री र अर्थमन्त्रीले जतिसुकै राम्रा र आर्थिक अवस्थामा सकारात्मक परिवर्तन आएको बताएपनि तथ्यांक भने दुरुहपूर्ण रहेको छ ।

राजश्व उठाउन चापमा परेको सरकारले पूरानो मितिमा निर्णय गराएर भएपनि देशव्यापी रुपमा ८ सदस्यीय अनुगमन टोली परिचालन गरेको छ ।

भन्सार जाँचपास प्रक्रियामा मालवस्तुको घोषणा, वर्गीकरण र मूल्यांकनमा गरिएको सुधारको कारण खुला सीमानाको फाइदा उठाउँदै माल वस्तुको अवैध निकासी तथा पैठारी भएको हुनसक्ने अनुमान छ ।

चालु आर्थिक वर्षको लागि निर्धारित राजश्व संकलनको लक्ष्य हासिल हुने गरी ठोस र प्रभावकारी कार्ययोजनासहित राजश्व संकलन कार्यमा संलग्न कार्यालयलाई परिचालन गर्न उक्त अनुगमन टोली परिचालन गरिएको अर्थमन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

अर्थ मन्त्रालयले यही जेठ २ गतेदेखि उक्त अनुगमन टोली परिचालित भएको जनाएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिस्तरीय निर्णय गरी उक्त अनुगमन टोली परिचालन गरेका हुन् । टोलीमा अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभाग, भन्सार विभागका उप–सचिव तहका ८ कर्मचारी रहेका छन् ।

अनुगन टोलीलाई अर्थ मन्त्रालय मातहतका विभाग र कार्यालयको वार्षिक कार्यक्रम तथा नियमित कामको अनुगमन गर्ने जिम्मेवारी समेत दिइएको छ । यस्तै कुनै समस्या भए तत्काल समाधानका लागि पहल गर्न समेत भनिएको छ ।

लक्ष्य अनुसारको प्रगति हासिल गर्न निर्देशन दिने, राजश्व संकलन गर्ने कार्यालयको आकस्मिक अनुगमन गर्ने, निरीक्षण गर्ने र आवश्यकता अनुसार छड्के चाँज गर्न समेत अख्तियारी दिइएको छ ।

यस्तै तोकिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कारवाहीको सिफारिश गर्न समेत उक्त अनुगमन टोलीलाई कार्यादेश दिइएको छ ।

उक्त अनुगन टोलीको परिचालन गर्ने सम्बन्धी निर्णय भएको अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।


पुष्प दुलाल