भदौ अन्तिम साता फर्निसिङ एक्स्पो हुने



काठमाडौं । फर्निचर तथा फर्निसिङ एक्स्पो भदौ २५ देखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गरी आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघले पाँच दिनसम्म एक्स्पो सञ्चालन गर्ने जनाएको छ ।

बढ्दो आधुनिक जीवन शैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने आयोजकको भनाई छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकले जनाएको छ ।

यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ ।

मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने संघका अध्यक्ष रुपेश प्रधानले बताए । नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन आम उपभोक्तालाई आग्रह गर्दै उनले नेपाल फर्निचरमा आत्मनिर्भर हुने बाटोमा अघि बढेको बताए ।

प्रदर्शनीमा फर्निचरको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने मेलाका संयोजक मनिष अग्रवालले बताए ।

पाँच दिनसम्म चल्ले एक्स्पोमा स्वदेशी तथा विदेशी गरी डेढ सय फर्निचर र फर्निसिङजन्य सामग्रीका स्टल रहनेछन् । नेपालमा वर्षेनी फर्निचर तथा फर्निसिङका उत्पादनहरुको ४० अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको आँकलन छ ।


क्लिकमान्डु