सांसदलाई अर्थमन्त्रीको ब्रिफिङ: स्रोतले धानेसम्म ‘पपुलिस्ट’ बजेट ल्याउँछौं



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले स्रोतले धानेसम्म पपुलिस्ट बजेट ल्याउने बताएका छन् । संघीय संसदको अर्थ समितिमा भएको आगामी आर्थिक वर्षको बजेट सम्बन्धी छलफलमा अर्थमन्त्री खतिवडाले यस्तो बताए ।

‘बजेट भनेको राजनीति र अर्थनीतिको सन्तुलन हो, स्रोतले भ्याएसम्म हामी पपुलर बजेट ल्याउने छौं,’ उनले भने, ‘जुनदिन सम्म स्रोतले भ्याउँछ, त्यसदिनसम्म जनताका आकांक्ष समेट्नेगरी बजेट पपुलर हुन्छ ।’

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत वृद्धभत्ता बढाउने र सरकारी कर्मचारीको तलब बढाउने घोषणा गरिसकेको छ । यी २ वटा काम गर्नका लागि मात्रै करिब ३० अर्ब रुपैयाँ थप भार पर्छ ।

छलफलमा सांसदहरुले सरकारले पपुलिस्ट बजेटका नाममा कनिका छरेजसरी बजेट छर्न नहुने सुझाब दिएका थिए ।

पूर्वअर्थमन्त्री समेत रहेका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले अर्थतन्त्र गतिशिल बनाउनुपर्ने सुझाब दिए । जवाफमा अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको गति जीडीपीले नाप्ने भन्दै यो वर्ष ७ प्रतिशतको जीडीपी ग्रोथ हुने बताए ।

अर्थमन्त्री खतिवडाले सरकारलाई सजिलो पार्नका लागि संसदीय समितिलाई सुझाब दिएका छन् ।

डीपीआर नभएका आयोजनाहरुलाई बजेट नदिन संसदीय समितिले निर्देशन दिने हो भने सरकारलाई सजिलो हुने उनले जानकारी गराए ।

‘बजेट छर्नु हुँदैन भनेर समितिले निर्देशन दिनुपर्यो, त्यतिमात्रै होइन डीपीआर नभएका आयोजनालाई बजेट नदिनु भनेर निर्देशन आयो भने हामीलाई सजिलो हुन्छ,’ खतिवडाले भने ।

निर्वाचन क्षेत्र विकास कोषको बजेटका सम्बन्धीमा अर्थमन्त्री खतिवडाले त्यो बजेट सांसदलाई दिएको नभई निर्वाचन क्षेत्रलाई दिएको भनेर बुझ्नुपर्ने बताए ।

स्थानीय तहलाई गिट्टी बालुवा लगायत मात्रै निकाल्न दिने तर बहुमुल्य खानीहरुमा भने केन्द्रिय सरकारको स्वामित्व रहने प्रष्ट पारे ।


पुष्प दुलाल