काठमाडौं महानगरद्वारा ‘बी’ र ‘सी’ डिभिजनका फुटबल क्लबलाई अनुदान हस्तान्तरण
काठमाडौँ । महानगरपालिकाले काठमाडौँ महानगरपालिका भित्रका ‘बी’ र ‘सी’ डिभिजनका फुटबल क्लबलाई क्रमशः तीन र दुई लाख रूपैयाँ अनुदान दिएको छ ।
अनुदान पाउने क्लबहरुमा ‘बी ’डिभिजनका अन्नपूर्ण क्लब, टुसाल युवा क्लव, कुमारी युवा क्लब, बाँसबारी युवा क्लब रहेका छन् भने ‘सी’ डिभिजनका सानो गौचरण क्लब, महाविर क्लब, समाज कल्याण खेलकुद क्लब, प्लानिङ ब्वाइज युनाइटेड, स्वयम्भु क्लब, मनोहर एकीकृत क्लब र समाजिक युवा क्लब रहेका छन् ।
अनुदान हस्तान्तरण कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले टिमले जित्दा मात्र आफुले पनि जित्ने र टीमले हार्दा आफूले पनि हार्ने भएकाले खेलाडीहरुले टीमले जित्ने गरी खेल्नु पर्ने बताए । उनले राजनीतिमा पनि त्यहि नियम लागु हुने बताए । उनले आगामी दिन महानगरले खेलकुदको विकासर पूर्वाधारमा माहानगरपालिकाले थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा उपमयेयर हरिप्रभा खड्कीले महिलाहरुको पनि खेलकुदको विकास गर्नुपर्नेमा जोड दिए । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले पनि खेलकुदको विकासमा महानगर लाग्ने बताए ।
एन्फाका अध्यक्ष कर्माछिरिङले महानगरपालिकाले खेलकुदको विकासमा गरेको सहयोगको प्रसंशा गरे । उनले महानगरको सामाकि विकासमा खेलको क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । यस अघि महानगरभित्रका ‘ए’ डिभिजनका क्लबलाई काठमाडौँ महानगरपालिकाले १०–१० लाख सहयोग गरेको थियो ।