प्राविधिक विश्लेषणः ठूला वाणिज्य बैंकको सेयर किन्दा फाइदा कि साना वाणिज्य बैंकको ?



सेयर बजारमा अहिले वाणिज्य बैंकहरुप्रति निकै आकर्षण बढेको छ । बजार धेरथोर करेक्सन सहित उकालो लाग्ने प्रयासमा रहँदा वाणिज्य बैंकको सेयर २ सय रुपैयाँभन्दा पनि कम मूल्यमा पाइरहेको छ भन्दै केही लगानीकर्ता नयाँ वाणिज्य बैंकमा केन्द्रीत छन् । अर्को तर्फ ठूला बैंक त ठूलै हुन् नि भन्ने धारणा मान्ने लगानीकर्ताको संख्या पनि कम छैन ।

यही मेसोमा हामीले सेयर मूल्य उच्च रहेका ३ र मूल्य न्युन रहेका ३ वाणिज्य बैंकका सूचकहरुलाई केलाउने प्रयास गरेका छौं । यसबाट पनि लगानीकर्तालाई कुन सेयरमा लगानी गर्ने मोटामोटी आँकलन हुनेअपेक्षा गरेका छौं ।

चाप कुनमा ?

पहिले हेरौं, कुन सेयरमा बढी चाप देखिन्छ । १४ दिने आरएसआई सूचकबाट हेर्दा पछिल्ला ३ दिनमा नबिल, एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकमा अधि चाप छ । यी बैंकको आरएसआई सूचक क्रमश: ९६.०१, ८१.१ र ९१.३७ छ । यी ३ वटैको सेयर ओभरबट जोनमा छ । एभरेष्ट र नबिलकोमा भने चाप केही घटेको छ । यद्यपी ओभरबट जोनबाट बाहिरीएको भने छैन ।

सिभिल र सेन्चुरी बैंकको सेयरमा पनि चाप केही बढ्दै छ । यद्यपी सन्तुलिन जोनमा नै छ । यी दुईको यो सूचक ५३ छ । मेगा बैंककोमा चाप बढ्न थालेको देखिएपनि यो अधिक बिक्री कै जोनमा छ । बैंकको आरएसआई २७ छ । छ वटै बैंकको २१ दिने मुभिङ एभरेज रेखा ७ दिनेभन्दा तल छ । यी दुई रेखाबीच हाल पर्याप्त दुरी छ । ७ दिने रेखा २१ दिनेभन्दा माथि नै रहेकोले बजार बढ्दो क्रममा नै रहेको देखाउछ ।

जोखिमको परिक्षण गर्न हेरिएको स्ट्याण्डर्ड डेभिएशनले स्ट्याण्डर्ड चार्टर्ड र सिभिल बैंकको सेयरमा बाँकी ४ को तुलनामा उच्च भोलाटिलीटि अर्थात् तीव्र उतार चढाव रहेको देखाउछ । १० दिनको घटबढ र त्यसको आधारमा निकालिएको डेभिएशनले सिभिल र स्ट्याण्डर्डको क्रमशः ०.०३० र ०.०३१ छ । नबिल , मेगा र ऐभरेष्टमा भने उतारचढावको दरमा समानता छ । सबैको ०.०२ छ ।

सेन्चुरी बैंकको यस्तो दर ०.०१ छ । अर्थात् सबैभन्दा चाडो घटबढ हुनेमा उच्च स्ट्याण्डर्ड डेभिएशन भएकाहरु छन् । यो दर कम हुने बैंकको सेयरमा जोखिम पनि कम प्रतिफल पनि कम हुन्छ भने उच्च हुनेमा जोखिम पनि बढि प्रतिफल पनि बढी हुने गर्छ । यस्तो प्रतिफल भने कम्पनीले दिने प्रतिफल नभई सेयरको उतारचढावबाट हुने फाइदा वा नोक्सानमा आधारित हुन्छ ।

मैनवत्ति चार्ट विश्लेषणले मेगा बैंकको सेयर मूल्यले अन्तिम दिन कालो मैनवत्ति बनाएको देखाएपनि १८० को आसपासमा अड्एिको छ । मूल्य घट्ने सम्भावना रहेपनि यो संकेत दरिलो भने होइन । सेन्चुरी बैंकको मैनवत्ति चित्रले अन नेक वियरिश आकृति बनाएको छ । यसले मूल्य घट्ने सम्भावना कायमै रहेको संकेत गर्छ । यो संकेत पनि दरिलो भने होइन । सिभिल बैंकको सेयर मूल्यले अन्तिम दिन डोजी आकृती बनाएको छ । अन्तिम दिन निकै तल्लो रेञ्जमा रहेको कारोबार भएको बैंकको सेयर बढ्ने सम्भावना छ ।

बढ्दो क्रममा नबिल बैंकको सेयर मूल्यले अन्तिम दुई दिनमा डोजी आकृती बनाएको छ । सेयरमूल्य घट्ने यसले संकेत गरिरहेको छ । एभरेष्ट बैंकको सेयर मूल्य पनि घट्ने सम्भावना रहेको मैनवत्ति विश्लेषणले देखाइरहेको छ । अन्तिम दुई दिनमा बैंकको मूल्यले सानो आकारको कालो मैनवत्ति र डोजी आकृति बनाएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्यले अन्तिम दोस्रो दिन सुटिङ स्टार बनाएको छ । यसले सेयर मूल्य घट्ने संकेत गर्छ । तर, अन्तिम दिन भनेमूल्य बढ्ने प्रयासमा देखियो । सो दिन सानो शरीर र दुवै तर्फ धागो भएको मैनवत्ति बनायो । यसलेमूल्य बढ्नेप्रयासमा रहेपनि सफल हुन पनि कठिन परिरहेको संकेत गर्छ ।

लाभांश क्षमता ?

पहिले हेरौं, पाँच बर्षमा कसको लाभांश उच्च रह्यो ? स्ट्याण्डर्ड चार्टर्डले पाँच वर्षमा सबैभन्दा धेरै बार्षिक औसत ५० प्रतिशत लाभांश दिएको छ । नबिल र एभरेष्टको यो अवधिमा औसत ४५ प्रतिशत, मेगाको ११ प्रतिशत छ । सिभिल र सेञ्चुरीबाट लगानीकर्ताले सबैभन्दा कम प्रतिफल पाए । यी दुईको औसतमा क्रमशः ६.६९ र ९.०८ छ । अब कस्तो देला भन्ने नै आगामी दिनको लागि रणनीतिको आधार हो । त्यसको लागि नाफा त हेर्नै पर्यो ।

पछिल्लो ५ वर्षमा सबैभन्दा धेरै नाफा वृद्धि दर भने नयाँ बैंकहरु कै छ । मेगा र सिभिलको बार्षिक औसत ४४ र ४६ प्रतिशतले नाफा बढिरहेको छ । सेञ्चुरीको सबैभन्दा धेरै ७६ प्रतिशतले वृद्धि भएको छ । नबिल, एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्डको क्रमशः १३.९७, १४.२४ र १२.४५ को दरमा वृद्धि छ ।

यो विश्लेषण तयार पार्दासम्म एभरेष्टले मात्रै तेस्रो त्रैमाशको वित्तीय विवरण सार्वजनिक गरेको छ । त्यसैले तुलनमा हामीले अबको विश्लेषणमा सबैको दोस्रो त्रैमाशकै वित्तीय विवरणलाई आधार लिएका छौं । पोहोरको दोस्रो त्रैमाशको तुलनामा मेगा, सेन्चुरी र सिभिलको नाफामा उच्च वृद्धि छ ।

मेगाको ३९ करोडबाट ८७ प्रतिशतले बढेर ७३ करोड, सिभिलको २२ करोडबाट ६३ प्रतिशतले बढेर ३६ करोड र सेन्चुरीको ३६ करोडबाट ४१ प्रतिशतले बढेर ५१ करोड छ । त्यस्तै नबिलको १ अर्ब ८३ करोडबाट १८ प्रतिशतले बढेर २ अर्ब १७ करोड छ । एभरेष्टको १ अर्ब २२ करोडबाट १६ प्रतिशतले बढेर १ अर्ब ४२ करोड छ र स्ट्याण्डर्डको १ अर्ब ७ करोडबाट ६ प्रतिशतले बढेर १ अर्ब १४ करोड छ ।

पहिलो त्रैमाशको तुलनमा भने मेगाको २१७ प्रतिशत, एभेरेष्टको १ सय २५ र नबिलको १ सय ६ प्रतिशतले नाफा बढेको छ । सिभिलको १००, सेन्चुरीको ८८ र स्ट्याण्डर्डको ८१ प्रतिशतले वृद्धि भएको छ ।

एभरेष्टको तेस्रो त्रैमाशमा भने अघिल्लो बर्षको तुलनामा नाफा १८ प्रतिशतले बढेर २ अर्ब २१ करोड पुगेको छ ।

पछिल्लो समय बैंकहरुले वितरण योग्य नाफा पनि स्पष्टसँग देखाउन थालेका छन् । यस आधारमा हेर्दा दोस्रो त्रैमाशमा सबैभन्दा धेरै लाभांश क्षमता नबिल बैंकसँग छ । बैंकले नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशतसम्म लाभांश दिन सक्ने विवरणबाट देखिन्छ । (हेरौं तालिका )

चुक्ता पुँजीको आधारमा समान देखिन थालेपनि ठूला बैंकको पहिचान उनीहरुको सञ्चितिबाटै गर्न सकिन्छ । सञ्चितिको आधारमा नबिल बैंक अग्रस्थानमा छ । बैंकको सबैभन्दा धेरै १४ अर्ब ५२ करोड सञ्चिती छ ।

बैंकहरुमा कसको सेयर अझै अन्डरभ्यालुड अर्थात् अवमूल्यन भइरहेको मूल्य आम्दानी अनुपात पीइ रेसीयोले देखाएको छ । छ बैंकमा सबैको यो अनुपात २० मुनी छ ।

यस्तो अनुपात २० देखि ३० बीच भए राम्रो मानिन्छ । कम्पनी नराम्रो अवस्थामा रहँदा पनि यो अनुपात भने घट्छ । यसले बैंकको एक रुपैयाँ आम्दानीलाई लगानीकर्ताले कति मूल्य तिरीरहेकाछन् भनेर देखाउँछ । प्रति सेयर आम्दानीको आधारमा नबिल, स्ट्याण्डर्ड र एभरेष्ट नै अगाडी छन् ।

नोटः सेयर बजार जोखिममा आधारित बजार हो । बजारबाट पाइने प्रतिफल हेर्न चाप, मूल्यमा हुने उतारचढाव प्रवृत्ति देखाउने प्राविधिक विश्लेषणहरु प्रभावकारी हुन सक्छ भने कम्पनीबाट पाइने प्रतिफल आधारभुत विश्लेषणबाट हेर्न सकिन्छ । यी दुईबीच अन्योन्याश्रित सम्बन्ध भने हुन्छ नै । यद्यपी हल्ला, नयाँ सुचनाहरुले आधारभुत पक्षलाई समेत छायामा पारेर मूल्य उतारचढाव पार्न सक्छ, जसलाई प्रविधिक विश्लषणबाट केही हदसम्म बुझ्न सकिन्छ । यद्यपी सबैपक्षको अध्ययन गरेर सन्तुलित रुपमा लगानी गर्नु सहि हुन्छ ।


पुष्प दुलाल