भूकम्प पीडितले बैंक तथा वित्तीय संस्थाबाट लिए दुई अर्ब ६८ करोड ऋण



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले भूकम्प पीडितलाई दुई अर्ब ६८ करोड रुपैयाँ बराबरको सहुलियत कर्जा उपलब्ध गराएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको आठ महीनाको विवरणअनुसार त्यस्तो कर्जा लिने भूकम्प पीडितको सङ्ख्या एक हजार ५७७ रहेको छ ।

भूकम्प पीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराएको पुनरकर्जा अनुसार पीडितले उक्त परिमाणको रकम ऋण लिएका हुन् । यस्तै उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने लक्ष्यले केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्ने पुनरकर्जाको उपयोग सो अवधिमा बढेको छ ।

चालू आवको आठ महीनासम्म केन्द्रीय बैंकले २४ अर्ब ५४ करोड रुपैयाँ पुनरकर्जा लगानी गरेको छ । त्यसमा साधारण पुनरकर्जा २० अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने निर्यात पुनरकर्जा एक अर्ब ४८ करोड रुपैयाँ छ । यस्तै सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पुशपक्षी व्यवसाय कर्जा लिनेको संख्या १४ हजार ११३ पुगेको छ । उक्त कार्यक्रममा २३ अर्ब ४१ करोड कर्जा बक्यौता रहेको छ भने ९८ करोड २२ लाख रुपैयाँ ब्याज अनुदान दिइएको छ । ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ मा भएको व्यवस्थाअनुसार अन्य क्षेत्रतर्फ पाँच करोड १४ लाख रुपैयाँ कर्जा प्रवाह भएको बैंकले जनाएको छ ।


क्लिकमान्डु