राष्ट्र बैंकले कर्मचारीलाई १ अर्ब ३२ करोड भत्ता बाँड्यो, तलबभन्दा २२० प्रतिशत भत्तामा खर्च



काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारीले तलबभन्दा बढी २२० प्रतिशतसम्म भत्ता लिने गरेको पाइएको छ ।

महालेखा परिक्षकको कार्यालयले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकका कर्मचारीले तलबको तुलनामा २२० प्रतिशतसम्म भत्ता लिदै आएको उल्लेख गरेको छ ।

नेपाल सरकारले यस वर्ष सरकारी खर्चमा मितव्ययिता सम्वन्धी निर्देशिका जारी गरी सबै सरकारी निकायमा विगतमा प्रदान गर्दै आएको स्थानीय भत्ता, लुगा भत्ता र महंगी भत्ता बाहेक अन्य सबै प्रकारका भत्ताहरु खारेज गरेको छ ।

निर्देशिकाको उक्त प्राबधान सार्वजनिक संस्थानमा समेत लागु हुने उल्लेख छ । नेपाल राष्ट्र बैङ्कका कर्मचारीलाई कर्मचारी सञ्चयकोष, औषधि उपचार कोष, उपदान कोष र कर्मचारी सुरक्षा कोषका अलावा सबै कर्मचारीलाई ८ किसिमका र विशेष समूहका कर्मचारीलाई १९ किसिमका भत्ता उपलब्ध गराएको देखिएको महालेखाले जनाएको छ ।

यो वर्ष तलब बाहेक १ अर्ब ३२ करोड अन्य भत्ताहरुमा खर्च लेखेको छ । उक्त खर्च तलब खर्चको तुलनामा २२० प्रतिशत बढी हुने देखिन्छ । निर्देशिकाको उक्त प्रावधान पालना गर्नेतर्फ ध्यान दिनुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ।

नेपाल राष्ट्र बैंकमा मौज्जात हुने सुन चाँदीको गुणस्तर – भौतिक परीक्षण प्रतिवेदन अनुसार २०७२।७३ मा २ हजार ६१५ किलोग्राम सुन र १ लाख २६ हजार १९० किलो ग्राम चांदी मौज्दात रहेको थियो ।

शुद्धताको मात्रा अनुसार टच नम्बरसहित अभिलेख राख्नुपर्नेमा मौज्दातको तौल र रकमको विवरणमात्र राखेको छ । सुन र चाँदीको परिमाण र गुणस्तर यकिन नगरेको हुँदा यकिन गर्नुपर्ने व्यहोरा गतवर्षको प्रतिवेदनमा उल्लेख गरेकोमा स्थिति यथावत रहेको उल्लेख गरेको छ ।

नेपाल राष्ट्र बैङ्कले कर्मचारीलाई विभिन्न प्रकारका सहुलियत ऋण प्रदान गरेकोमा आयकर ऐन, २०५८ बमोजिम प्रचलित व्याजदर भन्दा सहुलियत व्याजदर कम भएमा कम भए जतिको दरले हुन आउने रकमलाई कर्मचारीको आयमा समावेश गरी रोजगारीको आय गणना गर्नुपर्नेमा सो अनुसार गणना गरी आयमा समावेश गरेको छैन ।

यसबाट शुल्क र व्याज बाहेक ५ करोड ९८ लाख पारिश्रमिकमा कर असुल गर्नुपर्ने देखिन्छ । गतवर्ष यस्तो रकम ५ करोड ५० लाख असूल गर्नुपर्ने भनि प्रतिवेदनमा उल्लेख गरेको भएतापनि स्थिति यथावत रहेको उल्लेख छ ।


क्लिकमान्डु