बोर्डले गर्यो न्यूनतम १० कित्ता सेयर आवेदन दिन पाउने व्यवस्था, विद्यार्थीलाई उपयोगी हुने



काठमाडौं । धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा अहिले कम्तिमा ५० कित्ता आवेदन गर्ने व्यवस्थामा परिवर्तन गरी न्यूनतम १० कित्ता आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

बोर्डले विद्यार्थी तथा स–साना पूँजी भएका वर्गको पूँजीबजारमा पहँुच बढाउने र यसलाई समावेशी बनाई ‘एक नेपाली एक डिम्याट खाता’ अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले नयाँ व्यवस्था गरेको जनाएको छ ।

यो व्यवस्थाले पूँजीबजारमा विद्यार्थीसहित स–साना पूँजी भएको वर्ग समेतको सहभागिता बढ्ने र यो बर्षको ‘एक नेपाली एक डिम्याट खाता’ अभियानमा समेत व्यापक सहभागिता बढी पूँजीबजारको विकास तथा विस्तारमा थप टेवा पुग्ने बोर्डको अपेक्षा रहेको जारी विज्ञप्तिमा उल्लेख छ । यस व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित सबै निष्काशन तथा विक्री प्रबन्धक मर्चेन्ट बैंकरहरुलाई परिपत्र समेत गरिएको बोर्डको भनाई छ ।

सबै वर्गका लगानीकर्ताहरुको सहभागिता बढाउन उपलब्ध भएसम्म सबै आवेदकहरुले १० कित्ता सेयर पाउने समावेशी वितरण प्रणाली र आश्वा व्यवस्था २०७३ साल देखि लागू भएपश्चात काठमाडौं बाहिरसहित देशैभर साना तथा आम लगानीकर्ताको सहभागिता बढ्दै गएको बोर्डको भनाई छ ।


क्लिकमान्डु