चिनी उद्योगीसँग फेरि रिसाए प्रधानमन्त्री, भने- तपाईंहरुले मलाई धोका दिनुभो



काठमाडौं । चिनी उद्योगीसँगको प्रधानमन्त्री केपी शर्मा ओलीको रिस अझै मरेको छैन । उद्योगी/व्यवसायीले आयोजना गरेका सार्वजानिक फोरम भेट्यो कि प्रधानमन्त्रीले आक्रोश पोखिहाल्छन् ।

सोमबार नेपाल उद्योग परिसंघको कार्यक्रममा सहभागी हुन आइपुगेका प्रधानमन्त्री ओलीले चिनी उद्योगीले आफूलाई धोका दिएको भन्दै आक्रोश व्यक्त गरे ।

चिनी उद्योगीको भनाई मानेर सरकारले चिनी आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको तर चिनी उद्योगीले आपूmलाई धोका दिएको भन्दै प्रधानमन्त्रीदे आक्रोश ब्यक्त गरे ।

‘मैले चिनी उद्योगीको कुरा मानेर उद्योग बचाउनको लागि चिनी आयातमा नै प्रतिबन्ध लगाउने निर्णय सरकारबाट गरेँ,’ प्रधानमन्त्री ओलीले भने– ‘तर, उद्योगीले किसानको पैसा नदिने र बजारमा चिनीको मूल्य बढाउने र अभाव सिर्जना गर्ने काम गरेर मलाई धोका दिए ।’

प्रधानमन्त्रीले व्यवसायीले राम्रो काम गर्नुपर्ने र राम्रो काम गर्नेसँग सरकार सधै साथमा हुने बताए ।

‘तपाईंहरु राम्रो काम गर्नुहोस् सरकार सँधै तपाईंहरुको साथमा छ,’ ओलीले भने, ‘तर, सरकारलाई धोका दिने कामचाहीँ नगर्नुहोस् ।’

प्रधानमन्त्री ओलीले चिनी उद्योगीहरुले २ वर्षलाई पुग्ने चिनी स्टक छ, आयातित चिनीले हामीलाई सिध्यायो भन्दै गुनासो गरेपछि विश्वास गरेर चिनी अयातलाई प्रंतिवन्ध लगाइएको प्रष्ट पारे ।

‘तर, चिनी आयात बन्द गरेपछि मूल्य बढाएर किलोमै १ सय ५ रुपैयाँ सम्म पुर्याइयो,’ प्रधानमन्त्रीले प्रश्न गरे,– ‘यो पनि कुनै तरिका हो ?’

प्रधानमन्त्री ओलीले नक्कली भ्याट छापेर भ्याट छल्नतिर नलाग्न उद्योगी व्यवसायीहरुलाई सुझाब दिए ।

‘नक्कली भ्याटबिल छाप्नुभएन, पारदर्शी बिजनेश गर्नुपर्यो, समस्या भए सरकारलाई भन्नु पर्यो, यो सरकार उद्योगी व्यवसायीले भोगेका वास्तविक समस्या समाधान गर्न सँधै तत्पर छ,’ ओलीले भने ।

उनले विदेशी कम्पनीको खुल्ला एजेन्ट भएर दुलमखुल्ला कमिशन खाएर काम गर्न व्यवसायीहरुलाई आग्रह गरे । त्यसैगरी, उद्योगी व्यवसायीहरुसँग भएको कालोधन बाहेकको पुँजी निकालेर स्वदेशमै लगानी गर्न प्रधानमन्त्रीले सुझाए ।

सरकार आर्थिक सम्मृद्धि गर्न लागि परेकाले सबै क्षेत्रबाट यो अभियानमा सहयोग हुनुपर्ने प्रधानमन्त्रीको भनाई थियो ।

यसअघि पनि प्रधानमन्त्री ओलीले चिनी उद्योगीसँगको आक्रोश पटक पटक सार्वजानिकरुपमै व्यक्त गरेका थिए ।


पुष्प दुलाल