धितोपत्र बोर्डलाई अहिलेसम्मकै ठूलो उपलब्धी ओइसिडीको सदस्यता प्राप्त
काठमाडौं । सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले वित्तीय वित्तीय साक्षरता प्रवद्र्धन तथा ज्ञान अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय संस्था(ओइसिडीको) सदस्यता प्राप्त गरेको छ ।
ओइसिडीको वित्तीय साक्षारयता को सदस्यता लिने नेपालको तर्फबाट बोर्ड पहिलो संस्था भएको छ ।
नेपालमा वित्तीय साक्षरता न्यून रहेको सन्दर्भमा विश्वव्यापी रुपमा वित्तीय साक्षरतासम्बन्धी कार्य गर्ने गरी स्थापित उक्त संस्थाको सदस्यता लिँदा पछिल्लो समय वित्तीय क्षेत्रमा विकास भएका नवीनतम ज्ञान तथा प्रविधिको जानकारी भई देशमा वित्तीय साक्षरता अभिवृद्धि सम्बन्धी विभिन्न कार्यक्रमलाई समन्वयात्मक तथा स्तरीय रुपमा सञ्चालन गर्न उपयुक्त वातावरण तयार हुन सहयोग पुग्ने विश्वास बोर्डले लिएको छ ।
ओइसिडीको स्थापना २००८ मा भएको हो । यस संस्थाले साना तथा मझौला व्यवसाय, वित्तीय समावेशिता, युवा तथा महिला वर्ग, दीर्घकालिन बचत तथा लगानी लगायतका विविध क्षेत्रहरुमा वित्तीय साक्षरता अभिवृद्धिका लागि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
हाल यस संस्थामा विश्वका ६४ देशका ८६ संस्थाहरु पूर्ण सदस्यको रुपमा रहेका छन् भने नियमित सदस्यतर्फ ९५ देशका १७२ संस्थाहरु रहेका छन् । पूर्ण सदस्यता पाएको बोर्डले उक्त संस्थाको प्राविधिक समिति, सल्लाहकार समिति तथा विभिन्न कार्यगत समूहमा सहभागी हुने छ ।
यससँगै बोर्ड र ओइसिडीको संयुक्त आयोजनामा आगामी जुलाई २–३, २०१९ (तदनुसार असार १७–१८, २०७६) मा दुई दिनको वित्तीय साक्षरताको विषयमा नेपाल सम्मेलन गर्ने भएको छ । यसमा वित्तीय साक्षरता सम्बन्धी छलफल कार्यक्तम हुने छ ।