सिंहदरबारको पश्चिम भागलाई पनि रेट्रोफिट गर्ने निर्णय




काठमाडौं ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेको सिंहदरबारको मुख्य भवनको पश्चिम भागलाई पनि रेट्रोफिटिङ गरेर संरक्षण गर्ने भएको छ ।

संघीय संसदको विकास तथा प्रविधि समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पछिल्लो अध्ययनले रेट्रोफिटिङ गरेर अझै बलियो बनाउन सकिने देखाएकाले प्राधिकरणले पश्चिम भागको रेट्रोफिटिङ गर्ने गरी प्रकृया अघि बढाएको जानकारी दिए ।

सिंहदरबारको उत्तर, पूर्व र दक्षीण भागमा रेट्रोफिटिङ कार्य भइरहेको छ भने अध्ययनले सिंहदरबारको मुख्य पर्खालहरुमा ठूलो क्षति नभएको, प्रयोग भएका ईंटाहरु बलियो रहेको, केही काठहरु भने फेर्नुपर्ने देखाएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरातात्विक सम्पदा संरक्षणको अवधारणा अनुसार सिंहदरबारको रेट्रोफिटिङ गर्ने जानकारी दिए । उनले रेट्रोफिटिङको डिजाइन समेत प्राप्त भइसकेकाले प्रकृया छिट्टै अघि बढ्ने बताए ।

प्रतिनिधिसभा रहेको संसद्को पुरानो भवनलाई भत्काएर नयाँ बनाउन सुझाव आएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरानो भवनलाई रेट्रोफिटिङ गरेर संरक्षण गर्ने कि नयाँ संरचना बनाउने त्यसबारे सुझाव दिन सांसद्हरुलाई आग्रह समेत गरेका छन । उनले परराष्ट्र मन्त्रालयबाट स्टेट हलका रुपमा कार्यक्रम अघि बढाउन सुझाव आएको जानकारी समेत दिए ।


क्लिकमान्डु