बारा र पर्सामा आँधीको बितण्डा, किन थाहा पाएन मौसम पूर्वानुमान महाशाखाले ?
काठमाडौं । बारा र पर्साका विभिन्न स्थानमा आइतबार राती आएको भीषण हावाहुरीले जनधनको ठूलो क्षति गरेको छ । कयौं घर तथा आवास उडाएका छन् भने कयौंको थात थला नै खण्डहर बनाइदिएको छ ।
पछिल्लो विवरणअनुसार हालसम्म ३१ जनाको ज्यान गएको छ भने ४०० बढी घाइते भएका छन् । यत्रो ठूलो प्राकृतिक विनास हुन लाग्दा समेत जल तथा मौसम पूर्वानुमान महशाखाले केही पनि जानकारी पाएको थिएन । कसरी आयो हावाहुरी ? भन्ने बारेमा धेरैले हालसम्म जानकारी पाउन सकेका छैनन् ।
स्थानीय वायुको प्रभाव र भारतको मध्यप्रदेशमा निम्न चापीय क्षेत्र विकसित हुँदा हावाहुरीले शक्तिशाली स्वरूप लिएको देखिएको बताइएको छ । स्थानीय वायुकै प्रभावले बादल धेरै बनेर एकैचोटी तल खनिँदा हावाहुरी सिर्जना भएको बताइन्छ ।
तर जल तथा मौसम विभागका मौसमविद्का अनुसार स्थानीय वायुको प्रभाव उच्च भएकाले पूर्वानुमान संयन्त्रमा सचेत गराउनेगरी कुनै संकेत देखिएको थिएन ।
स्थानीय वायुको प्रभाव तल्लो भेगमा आकलन गर्न हाम्रो प्रणालीले नसकेको बताइन्छ ।
भारतको मौसम पूर्वानुमान निकायले चाहिँ नेपाली सीमा जोडिएका बिहार तथा पश्चिम बंगाल राज्यमा प्रतिघण्टा ४० देखि ५० किलोमिटरको गतिमा हावा चल्न सक्ने बताएको थियो ।
नेपालको मौसम पूर्वानुमान महाशाखाले सोमवार दिउँसो नेपालका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ । पहाडी भेगको केही स्थानमा र पूर्वी तराई भेगका एकदुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना देखिन्छ ।
सोमवार राति भने पूर्वी नेपालमा आंशिकदेखि सामान्य बदली रहने, पश्चिम र मध्यनेपालका पहाडी भूभागमा आंशिक बदली हुने र अन्य भूभागहरुको मौसम सामान्यतया सफा रहने छ । तर पूर्वी नेपालका केही मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना भने उसले जनाएको छ ।
भारतको राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रले सोमवार पनि बिहारमा मेघगर्जन हुने र ३० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्न सक्ने जनाएको छ ।