लगानीकर्ता फकाउँदै प्रचण्डले भने- शान्ति ल्याएका छौं, ढुक्क भएर लगानी गर्नुहोस्
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न कुनै समस्या नरहेको बताउनुभएको छ ।
लगानी सम्मेलनमा सहभागी स्वदेशी एवम् विदेशी लगानीकर्तालाई उनले भने ‘ढुक्क हुनुहोस् र लगानी गर्नुहोस् ।’
लगानी सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उनले सरकारले लगानीकर्तालाई उच्च प्रतिफल हुने गरी कानूनी तथा नीतिगत सुधार गरेर सकारात्मक वातावरण सिर्जना गरेको बताए ।
उनले नेपालमा लगानी गरेर उच्च प्रतिफल हासिल गर्नसमेत आग्रह गरे । राजनीतिक स्थायित्वले लगानीकर्तालाई विश्वास दिलाएको उल्लेख गर्दै उनले सबै प्रकारको सुधारबाट लगानीमैत्री वातावरण बनाइएको र निर्णय प्रक्रियालाई सहज बनाइको उल्लेख गरे ।
अध्यक्ष दाहालले प्छिल्ला दिनमा व्यवस्थापन तथा बजारीकरणमा नवीन प्रयास गरिएको, सरकारले दर्जनौँ सुधारको काम गरेको र लगानीका लागि सहज बनाइएको तथा समस्यारहित वातावरण बनाइएको बताए ।
यस्तै सम्मेलनले पनि नेपाल आकर्षण लगानी गन्तव्य हो भन्ने संस्थागत गरेको र लगानीका लागि योग्य स्थान हो भन्ने तथ्य स्थापित गरेको उनको दाबी थियो ।
नेपालको जनशक्ति, प्राकृतिक स्रोत तथा साधनले लगानीकर्तालाई सहज वातावरण बनाएको स्पष्ट पार्दै उहाँले छिमेकी देशसँग गरिएको शुल्करहित भन्सार प्रक्रियाले पनि थप सहजीकरण गरेको बताए ।
दक्षिण एशियामै पर्यटन क्षेत्रका लागि महत्वपूर्ण स्थानमा रहेको जानकारी दिँदै अध्यक्ष दाहालले भने ‘मनोरम प्राकृतिक सुन्दरताका कारण पनि नेपाल लगानीका लागि थप योग्य छ ।’
बौद्धिक सम्पत्तिको संरक्षणमा पनि पछिल्ला दिनमा सरकारले जोड दिइएको अध्यक्ष दाहालको भनाइ थियो ।
ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा लगानीका लागि महत्वपूर्ण अवसर प्राप्त भएको स्पष्ट पार्दै उनले सबै प्रकारका लगानीकर्तालाई खुला हृदयका साथ लगानी गर्न आग्रह गरे ।
सार्वजनिक निजी क्षेत्र साझेदारीले पनि लगानीकर्ताका लागि सहजीकरण गरेको र विदेशी लगानीले आन्तरिक लगानीलाई समेत थप अभिवृद्धि गर्ने उनको भनाइ थियो ।
नेपालको आफ्नै विशिष्टतामा शान्ति प्रक्रिया सम्पन्न भएको र त्यसको ऐतिहासिक महत्व रहेको समेत अध्यक्ष दाहालले सम्मेलनलाई जानकारी गराए ।