उमेर ७२ वर्ष, भेडा पालेर मासिक ४० हजार आम्दानी




काठमाडौ । उमेरले ७२ काटेका कृष्णमुरारी श्रेष्ठको दिन प्राय भेडिगोठमै बित्ने गरेको छ ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीका श्रेष्ठले भेडा पाल्न थालेको ३६ वर्ष भयो । बिहान र बेलुकी घरको धन्दा गर्नु र दिनभर गोठमा रहेका भेडालाई चाराउनका लागि नजिकैकको जङ्गलमा पग्नु उनको पेशा हो ।

गोठभर भेडा पालेर त्यसैबाट हुने आम्दानीले गुजारा गर्दै आउनुभएका कृष्णमुरारी भेडा बिक्री गरेर मासिक ४० हजार आम्दानी गर्छन ।

पहिले ३०÷३५ वटा भेडा पालेका उनले पछिल्लो समय भेडाको सङ्ख्या घटाएका छन । भेडाका लागि चरनको अभाव हुँदै गएकाले सङ्ख्या घटाउनुपरेको श्रेष्ठले बताए ।

विसं २०२९ देखि निरन्तर भेडा पाल्दै आएका उनी यो पेशाबाट खुशी छन । पालिएका भेडा देवी–देवतालाई बली दिन र विभिन्न चाड पर्वमा खानका लागि ग्राहकहरू श्रेष्ठको घरमै किन्न आउने गरेका छन ।

गाउँछेउमा रहेको जङ्गलमा भेडाका लागि प्रशस्त घाँसपात रहेकाले भेडापालन सहज भएको उनले बताए । भेडाको बजार राम्रो रहेकाले मासिक आम्दानी पनि राम्रो हुने गरेको छ । ‘‘बिक्रीका लागि कसैलाई गुहार्नु पर्दैन, ग्राहक घरमै आएर लैजान्छन’ श्रेष्ठ भन्छन, “एउटै भेडाको दश हजारदेखि १५ हजारसम्म पर्छ ।” बागलुङ बजारको विलासी जीवनशैली त्यागेर धम्जा पुग्नुभएका श्रेष्ठ शुरुमा स्थानीय एक विद्यालयका शिक्षक थिए ।

भेडा पालनमा लाग्दा लाग्दै उहाँले त्यहाँ घरबार पनि जोड्नु भएको छ । पछिल्लो समयमा नेपालका अधिकांश गाउँ रित्तिदैछन् । युवायुवतीको मोह गाउँघरप्रति खासै देखिदैन ।

उनीहरुमा पनि सुकिलामुकिला बन्ने सोखमा शहर पस्ने गरे पनि श्रेष्ठ भने आफूलाई काठेखोला–३ धम्जाबाट पुनः बजार फर्केर आउन कहिल्यै मन नलागेको बताउँछन । गाउँको हावापानी, घरछेउको भेडीगोडमा हुर्किरहेको भेडाका पाठाले उहाँको मन उतै रोकिरहेको छ । उनलाई त्यस्तो मोहनी लगाउने चिज भनेको त्यहाँको स्वस्थ र सफा अनि हरियाली वातावरण पनि हो ।

शुरुमा धम्जा जनता प्राविमा शिक्षण पेशा गर्दा १० रुपैयाँ घरभडा तिरेर गाउँको बसाइँ शुरु गरेका श्रेष्ठको अहिले त्यहाँ सुन्दर घर बनिसकेको छ ।

विसं २०४८ तिर शिक्षण गरेवापत मासिक १४० रुपैयाँ पारश्रमिकले घर चलाउन कठिन भएकाले शिक्षणसँगै भेडा पाल्न थालेकाले थप खर्चको जोहो हुन्थ्यो, पछि भेडाबाट राम्रो आम्दानी हुन थालेपछि शिक्षण पेशा छोडेर व्यावसायिक रूपले भेडापाल्न थालेको उनी बताउँछन ।

विदेशमा रहेका छोराले पटक÷पटक बजार झर्न आग्रह गरेपनि गाउँको मोहनीले उहाँलाई छोडेको छैन । दिनदिनै आफ्नो माटो विर्सेर विदेशिने युवालाई गाउँमै केही गर्न उनी सम्झाउँछन । रासस


क्लिकमान्डु