धितोपत्र बोर्डको निर्णयले सेयर बजारमा हरियाली
काठमाडौं । धितोपत्र बोर्डले आगामी वैशाख १ गतेदेखि दोस्रो बजारमा एक पटकमा ५ लाख वा सोभन्दा बढी कारोवार गर्ने लगानीकर्ताहरुलाई स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने निर्णय गरेसँगै सेयर बजारमा हरियाली छाएको छ ।
बोर्डले पाँच लाख भन्दा कम लगानी गर्ने तथा साना लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था गर्ने बोर्डले निर्णय गरेसँगै कारोबारको सुरुदेखि ओरालो लागेकोे बजारमा सुधार देखिएको हो ।
लामो समयदेखि बजारमा प्यान लाग्ने विषयमा बोर्डले आधिकारीक धारणा सार्वजनिक गरेसँगै बजार बढन थालेको थियो । बिहीबार सेयर कारोबार मापन गर्ने सूचक ५.४० अंकले बढेर १ हजार १५५.५० बिन्दुमा रोकिएको छ । १७१ कम्पनीको १३ लाख ३९ हजार ९७२ कित्ता सेयर ४८ करोड ५८ लाख ७७ हजार ९३१ रुपैयाँमा किनबेच भएको छ ।
दश वटा उपसमूहको कारोबारमा उत्पादन तथा प्रशोधन समूहको ०.२३ अंकले घट्दा बाँकी सबै उपसमूहमा सुधार देखिएको छ । सबै भन्दा बढी होटेल उपसमूहको ४०.०९, विकास बैंक २२.५४, निर्जीबन बीमा कम्पनी २२.०८, बैंकिङ समूहको ४.५९ अंकले बढेको छ ।
यो दिनको कारोबारमा कारोबार रकमका आधारमा नेशनललाई इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयर अग्रस्थानमा देखिएको छ । यसको २१ करोड बढीको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रोमा क्रमशः एनसिसि बैंक र नेशनल लाईफ इन्स्योरेन्स रहेका छन् ।