हस्तान्तरण भएको ८ वर्षपछि मर्मत गरिँदै तीनकुने-सूर्यविनायक सडक



काठमाडौं । जापान सरकारको सहयोगमा निर्माण गरिएको काठमाडौं-भक्तपुर सडकखण्ड हस्तान्तरण भएको ८ वर्षपछि मर्मत सम्भार गरिने तयारी गरिएको छ ।

जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले सन् २०११ मा निर्माण सम्पन्न गरी सो सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

नेपाल सरकारको मातहतमा आएपछि हालसम्म सो सडकखण्डमा कुनै मर्मत नगरिएको सिन्धुली–धूलिखेल–बर्दिबास आयोजनाका प्रमुख सूर्यबहादूर भट्टले बताए ।

‘निर्माण सम्पन्न भए पछि हालसम्म मर्मत नगर्दा सो सडक चिरा परेको छ, त्यसैले मर्मत गर्नु आवश्यक छ,’ उनले भने ।

यस्तै सडक विभागले भने सो सडकखण्डको मर्मत सम्भारको जिम्मेवारी भने सिन्धुली धूलिखेल बर्दिबास आयोजनालाई दिएको छ ।

आयोजनाले सो सडकखण्डको ९ दशमलब १४ किलोमिटर अर्थात् तीनकुनेदेखि सूर्यविनायकसम्म मर्मत सम्भार गर्न लागेको हो । चिरा परेको सडकको कालोपत्रे गरिएको भागमा (एसफिल्ड कनक्रिट डेसिङ) पुनःकालोपत्रे नै गरिनेछ ।

(एसफिल्ड कनक्रिट डेसिङ) कालोपत्रे गर्नका लागि आवश्यक कच्चा पदार्थ तयारी अवस्थामा हुने हुदाँ काम सुरु भएको ३ देखि ४ महिनामा सो काम सकिने आयोजनाले बताएको छ ।

‘सडक चिरा पर्नु ठूलो समस्या होइन, राम्रो निर्माण कम्पनी भएमा छोटो समयमा नै सडक मर्मतको काम समपन्न गर्न सकिन्छ,’ उनले भने ।

सडक मर्मत गर्न ढिला भएको आयोजनाको भनाई छ । सडक निर्माण गर्दा प्रयोग गरेको सामग्री अनुसार सडकको आयू ५ देखि ७ वर्ष सम्मको हुन्छ । तर, काठमाडौं भक्तपुर सडकखण्ड सूचारु भएकै ८ वर्ष भइसक्यो ।

यदि अहिले पनि सडक मर्मत गरिएन भने भोलिका दिनमा जोखिम बढ्ने उनले बताए ।

‘काठमाडौं-भक्तपुर सडक अहिलेको समयमा मर्मत नगर्दा भोलिका दिनमा कालोपत्रे उप्कीने, गिटीहरु देखापर्ने, खाडल पर्ने तथा पानी जम्ने लगायतका समस्या आई सडक ध्वस्त हुन सक्छ ,’ उनले भने ।

यस्तै उनले सो सडकमा ट्राफिक चाप पछिल्लो वर्षहरुको तुलनामा दिनानु दिन बढ्दै गएको बताए । बिपी तथा अरिनीको राजमार्ग लगायत अन्य सहायक सडकहरुमा सञ्चालन हुने सवारी साधनहरुले सो सडकखण्ड प्रयोग गर्ने हुदाँ ट्राफिक चाप बढेको छ ।

भोलि समस्या नहोस् भन्नका लागि आज मर्मत गर्नु आवश्यक छ यसका लागि आयोजनाले विभागसँग छलफल गरी बजेटको लागि अर्थ मन्त्रालयसँग माग गरेको उनले बताए ।

हामीले टिप्पणी उठाएर सडक मर्मतको लागि भन्दै अर्थ मन्त्रालयमा फाइल पेश गरेका छौं, करिब दुई महिना हुन लाग्यो किन हो मन्त्रालयले बजेट निकासामा भने ढिलाई गरेको छ,’ उनले भने ।

उनले बजेट आउन साथ काम अघिबढ्ने गरी आयोजना तयारी अवस्थामा रहेको बताए ।


पुष्प दुलाल