कर्मचारी अभावः वडा सचिवको काम सम्हाल्दै प्राविधिक



मङ्गलबार । फाकफोकथुम गाउँपालिका–२ का प्राविधिक लक्ष्मी शर्मा अहिले वडा सचिवको जिम्मेवारी निर्वाह गरिरहेकी छिन । वडामा उनले वडासचिव र प्राविधिक दुवैको जिम्मेवारी सम्हालेकी छिन ।

त्यस्तै फाकफोकथुम–१ ठिङ्गेपुरमा तिलरूपा राई वडा सचिवको जिम्मेवारी सम्हालेकी छिन । गरीबसँग विश्वेश्वर कार्यक्रमकी सामाजिक परिचालक राईले वडा सचिवको भूमिका निर्वाह गरिरहेकी छिन ।

गाउँपालिका घोषणा भएको झण्डै दुई वर्ष पुग्नै लाग्दा पनि जिल्लाको दुर्गम फाकफोकथुम गाउँपालिकाका सात वटा वडामध्ये तीन वडामा मात्र सचिव छन । अन्य वडामा अन्य कर्मचारीले दुईतिरको जिम्मेवारी निर्वाह गरिरहेका छन । जस्ले गर्दा दैनिक कार्यसम्पादनमा पनि समस्या भएको छ । सिंहदरबारको अधिकार गाउँमा पुगे पनि कर्मचारी र भवन अभावमा यहाँका बासिन्दाले सास्ती खेप्नुपरेको छ । गाउँपालिकाका अधिकांश वडा नयाँ भएकाले वडा भवन बन्न ढिलाइ हुँदा भाडाको घरमा मुस्किलले काम चलाउनुपर्ने बाध्यता छ ।

फाकफोकथुम गाउँपालिकामा पर्याप्त कर्मचारी छैनन । गाउँपालिकाको क्षेत्र ठूलो र कर्मचारी कम हुँदा काम गर्नै कठिन भएको फाकफोकथुम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदी बताउँछन ।

“योजना छनोटदेखि डिजाइन स्टमेट र भुक्तानीसम्म नै प्रभावित भएपछि कार्य योजनाअनुसार विकासका गतिविधि बढाउन कठिन छ”, उनले भने । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत, इञ्जिनीयर, अधिकृतसहित ३३ वटा स्वीकृत दरबन्दी रहे पनि हाल तीन जना अधिकृतसहितका १६ वटा दरबन्दी खाली रहेको प्रशासकीय अधिकृत सुवेदीले बताए। सरकारले कर्मचारी समायोजन गरे पनि अहिलेसम्म यस गाउँपालिकामा कोही पनि कर्मचारी आएका छैनन ।

जतिसक्दो चाँडो कर्मचारीको व्यवस्थापन गरेर कार्य सम्पादनलाई सहज बनाउन माग गरे पनि सुनुवाइ नभएको उनले बताए । करीब १० करोड विकास खर्च रहेको यस गाउँपालिकामा अहिलेसम्म १० प्रतिशत मात्र प्रगति भएको छ । केही योजना कार्यान्वयन चरणमा रहेका छन ।


क्लिकमान्डु