काठमाडौं महानगरका विभिन्न स्थानमा ३ करोड खर्चेर सिसी क्यामरा राखिने



काठमाडौं । शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले महानगरका विभिन्न क्षेत्रमा सिसी क्यामरा राख्ने भएको छ । महानगरले महानगरीय प्रहरीसँग साझेदारी गर्दै महानगरभित्र ३ करोड रुपैयाँ मूल्य बराबरको सिसी क्यामरा राख्न लागेको हो ।

महानगरीय प्रहरी यस विषयमा सकारात्मक रहेको भन्दै प्रहरीलाई ३ करोड रुपैयाँ उपलब्ध गराईसकेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

‘हाललाई क्यामरा राख्नको लागि भनेर प्रहरीलाई सो रकम उपलब्ध गराएका छौं, यो रकम आवश्यकता अनुसार थपघट गर्न सकिन्छ,’ डंगोलले क्लिकमाण्डूसँग भने ।

क्यामरा राख्नको लागि महानगरले प्रविधि शाखाका अधिकारी राज्यप्रकाश प्रधानङ्गको संयोजकत्वमा तीन सदस्य सहितको समिति निर्माण गरेको छ । सो समितिले महानगरका कुन–कुन स्थानमा क्यामरा आवश्यक पर्छ भनि अध्ययन गर्ने प्रवक्ता डंगोलले बताए ।

सो समितिको अध्ययन कै आधारमा क्यामरा राखिने छ । महानगरले भने विशेष गरी साँस्कृतिक, पुरातात्विक तथा व्यवसायीक क्षेत्रमा क्यामरा राख्ने तयारी गरेको हो । अबको दुई देखि तीन महिना वा ढिलामा यस आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा सो काम सम्पन्न गरिसक्ने महानगरले लक्ष्य लिएको छ ।

क्यामरा राख्ने स्थानमा महानगरले बत्ती समेत जडान गर्नेछ । ‘बत्ती नभएमा क्यामरा राखे/ नराखेको कुनै अर्थ हुदैन त्यसैले क्यामरा सँगै बत्ती पनि राखिन्छ,’ उनले भने ।

यद्यपि महानगरले मेयर उज्योलो कार्यक्रम अन्तर्गत वडासँग समन्वय गदै महानगरका सम्पूर्ण क्षेत्रमा उज्यालो पार्ने कामलाई तीव्रता दिएको महानगरले जनाएको छ । सो कार्यक्रम अन्तर्गत हाल कलंकी बानेश्वर, त्रिपुरेश्वर महाराजगञ्ज, थापथली कमलपोखरी क्षेत्रमा बत्ती राख्ने तयारी गरिएको छ ।

महानगरीय प्रहरी रानीपोखरीले भने काठमाडौं लगायत उपत्यकाको तीनै जिल्लामा शान्ति सुरक्षाको लागि भन्दै यसअघि देखि नै सिसी क्यामरा राख्दै आएको छ । उसले यसका लागि महानगर, विभिन्न नगरपालिकासँग समन्वय गर्दै आएको छ ।

प्रहरीले काठमाडौंमा ९ हजार १ सय १७, ललितपुरमा ६ हजार ३ सय ११ तथा भक्तपुरमा ५ हजार ९सय ८५ स्थानमा क्यामरा आवश्यकता रहेको बताँउदै आएको छ । प्रहरीका अनुसार हाल काठमाडौंमा ५२१ वटा सिसी क्यामरा रहेका छन् जसमध्ये ४६० वटा चालु अवस्थामा रहेको छ ।


पुष्प दुलाल