१३ करोडको ‘नेटवर्क आर्क ब्रिज’ ६ महिनाभित्र सञ्चालनमा आउने



काठमाडौं । ठेकदारको ढिलासुस्तीको कारण समयमै सम्पन्न हुन नसकेको काठमाडौं बिजुली बजारको ‘नेटवर्क आर्क ब्रिज’ अबको ६ महिनामा सञ्चालनमा आउने भएको छ । पुरानो पुलको दायाँबायाँ रहेको नेटवर्क आर्क ब्रिज अबको ६ महिनामा निर्माण सम्पन्न भई सञ्चालनमा आउने काठमाडौं सडक विस्तार आयोजनाका इन्जिनियर विश्व विजयलाल श्रेष्ठले बताए ।

हाल धोबी खोलाको दक्षिण भागमा रहेको नेटवर्क आर्क ब्रिजको निर्माणकार्य करिब सम्पन्न हुने चरणमा रहेको आयोजनाले जनाएको छ ।

‘गाडी गुड्ने भागमा पिच तथा रंगरोगनको काम मात्र बाँकी भएको हुदाँ छिटै नै गाडी सञ्चालन हुन्छ,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

पुलको (फाउन्डेशन) जगको भाग तथा (सबस्ट्रक्चर ) जग देखि लिएर पिल्लर सम्मको भाग निर्माण भइसकेको छ भने ( सुपर स्ट्रक्चर) पुलको मथिल्लो भागको निर्माण कार्य भने बाँकी रहेको छ ।

लम्बाई ५० मिटर तथा चौडाई १४ मिटर तथा आर्क १० मिटर रहेको सो पुल निर्माणको लागि विभागले जेइ कन्सट्रक्सन प्रालिसँग १३ करोड १३ लाखमा निर्माण सम्झौता गरेको हो ।

विभागले जेइ कन्स्ट्रक्सनसँग २०७१ साल पुष १३ गते निर्माण सम्झौता भएको थियो । सम्झौता भए अनुसार २०७४ पुस १३ मा निर्माण सम्पन्न गुर्नपर्ने थियो ।

तर विभिन्न कारण देखाँउदै जेइ कन्स्ट्रक्सनले समयमै काम सम्पन्न गर्न नसकेको आयोजनाले बताएको छ । जेइ कन्स्ट्रक्सनले भूकम्प, खानेपानीको ढल, धोबीखोला करिडोर, विधुतको पोल लगायतका अवरोधका कारणले गर्दा नेटवर्क आर्क ब्रिज समयमै सम्पन्न गर्न नसकेको बताउँदै आएको छ ।

विभागले सडक बढेसँगै पुल पनि निर्माण गर्नुपर्ने आवश्यक रहेको भन्दै पहिलो पटक नेटवर्क आर्क ब्रिज नेपालमा निर्माण गर्न लागेको हो ।

कामठमाडौंको साँघुरो सडकमा जाम कम गर्ने उद्देश्यका साथ नेटवर्क आर्क ब्रिज निर्माण गरिएको हो । आयोजनाका अनुसार नयाँ डिजाइन भएको हुदाँ नेटवर्क आर्क ब्रिजले काठमाडौंको सडकमा सौन्दर्यता समेत थप्ने छ ।


पुष्प दुलाल