काठमाडौं-बर्दिबास सडक सुधारका लागि ५४ करोड माग



काठमाडौं । सिन्धुली-धुलिखेल-बर्दिबास आयोजनाले यस आर्थिक वर्ष (२०७५/७६) को अन्त्यसम्म काम सम्पन्न गर्ने गरी काठमाडौंदेखि बर्दिबाससम्मको सडक सुधार गर्ने तयारी गरेको छ ।

सिन्धुली-धुलिखेल-बर्दिबास आयोजनाले भूकम्प तथा अन्य विविध कारणले गर्दा सडक सुधारको लागि भन्दै सरकारसँग ५४ करोेड रुपैयाँ समेत माग गरेको छ ।

आयोजनाले काठमाडौंदेखि बर्दिबाससम्म सडक मर्मत गर्ने भए पनि सूर्यविनायक देखि धुलिखेल सम्मको सडक भने नसमेटिने आयोजना प्रमुख सूर्यबहादुर भट्टले बताए । सो क्षेत्र जापानको सहयोग निकाय जाइकाले निर्माण गर्ने भनिएसँग उक्त खण्ड नसमेटिने लागिएको हो ।

आयोजनाले पाँचखण्डमा विभाजन गरी सो सडक सुधार गर्न लागेको हो । काठमाडौं सूर्यविनायक, धुलिखेल नेपालथोक, नेपालथोक खुर्कोट, खुर्कोट सिन्धुली र सिन्धुली बर्दिबाससम्म गरी ५ खण्डमा विभाजन गरी निर्माण गरिने आयोजनाले जनाएको छ ।

यी ५ खण्डमध्ये सबैभन्दा बढी क्षति भने धुलिखेलदेखि नेपालथोकसम्म भएको छ भने नेपालथोक खुर्कोट र सिन्धुली बर्दिबासमा भने सामान्य समस्या रहेको प्रमुख भट्टले जानकारी दिए ।

काठमाडौंदेखि सूर्यविनायकसम्मको सडकमा भने सडकको माथिल्लो भागमा पुनः कालोपत्रे (एसफिल्ड कन्क्रीट ओभरल्याप ) गरिनेछ । सरकारी खर्चमा गरिने कालोपत्रेको लागत रकम भने २० करोड रहेको छ ।

‘आर्थिक वर्षको सुरुमा रकम माग गरिए पनि हालसम्म रकम प्राप्त भएको छैन । तर, यसै आवको अन्त्यमा सडक पुनः कालोपत्रे गरिसक्ने लक्ष्य राखिएको,’ भट्टले भने ।

धुलिखेलदेखि नेपालथोकसम्मको सडकमा सडकको छेउ भागमा गाडी चल्ने अवस्था नहुनुको साथै दायाँ बायाँमा रहेका गाह्रो तथा सुरक्षा पिलर बिगिएको छ । समस्या धेरै भएको हुदाँ खर्च पनि धेरै लाग्ने अनुमान गरिएको छ । हाल सो क्षेत्रको सडकको छेउमा गाडी सञ्चालन गर्न नदिएको उनले बताए ।

खुर्कोट सिन्धुली सडकमा भने सडकको माथिल्लो भाग ड्रेसिङ गरिनेछ । सो सडकखण्डमा सडक तथा सडक बारको समेत मर्मत गरिने उनले बताए ।

यस्तै नेपालथोक खुर्कोट र सिन्धुली बर्दिबासमा भने सामान्य मर्मत गर्नुपर्ने आयोजनाले जनाएको छ । प्रमुख भट्टका अनुसार नेपालथोक खुर्कोट तथा सिन्धुली बर्दिबास भने सडकमा सामान्य मर्मत जस्तो कालोपत्रे, आग्लोहोचो मिलाउनु पर्ने लगायतका काम गर्नुपर्ने बताए ।


पुष्प दुलाल