जग्गाको मुआब्जा नदिई त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडकको कालोपत्रेले पायो निरन्तरता



काठमाडौं । जग्गाको मुआब्जा नदिई त्रिभूवन राजपथ अन्तर्गत त्रिपुरेश्वर–कलङ्की–नागढुङगा सडक खण्डको कालोपत्रे अघि बढेको छ ।

साढे १२ किलोमिटर दुरी रहेको त्रिपुरेश्वर कलङ्की नागढुंगाको हाल ६५ प्रतिशत भाग कालोपत्रे भएको सडक विभागले जनाएको छ ।

हाल कलङ्की बाट कालिमाटी आउने सडकखण्डको ६ देखि ७ किलोमटिर खण्डमा कालोपत्रे भइरहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका इन्जिनियर विश्वविजयलाल श्रेष्ठले बताए ।

हाल सडकको बीच भागबाट ११/११ मिटर गरी २२ मिटर चौडाइ कालोपत्रे गर्न लागिएको हो ।

‘मुआब्जा विवादको कारण सम्पूर्ण ठाँउमा २२ मिटर कालोपत्रे भने हुन सक्दैन, त्यसैले उपलब्ध ८, १० मिटर देखि जति सम्म पाईन्छ त्यति कालोपत्र गर्न लागिएको हो,’ इन्जिनियर श्रेष्ठले भने ।

सबै स्थानमा २२ मिटर नै उपलब्ध नहुदाँ सडक नागबेली हुन सक्ने उनले बताए । यसअघि सडकको बीच भागबाट २५/२५ मिटर गरी ५० मिटर चौडाइ कालोपत्रे गर्ने योजना थियो ।

आयोजनाले साढे १२ किलोमिटरको सडकलाई तीन-तीन किलोमिटर गरी चारवटा खण्डमा विभाजन गरी कालोपत्रे काम सुरु गरेको छ ।

३.३८० त्रिपुरेश्वरदेखि कलङकीसम्मको पहिलो खण्ड सिएम, विरुवा र बज्रगुरुले निर्माण गर्नेछन् । हाल कालोपत्रे भइरहेको सो खण्डमा ६० प्रतिशत काम भइसकेको आयोजनाले जनाएको छ ।

दोस्रो खण्ड कलङ्कीदेखि सतुङगलसम्मको रहेको छ । जसलाई शर्मा, शैलुङ, कान्छाराम जेभीले निर्माण गर्ने भएको छ । आयोजनाका अनुसार यस खण्डमा पनि कालोपत्रे भइरहेको छ । तेस्रो खण्ड अर्थात् सतुङगलदेखि त्रिभुवन पार्कसम्मको निर्माण भने साप, लुम्बिनी, शैलङ जेभीले पाएको छ ।

यसमा पनि काम भइरहेको छ । त्रिभुवन पार्कदेखि नागढुङगासम्मको अन्तिम खण्डको निर्माण कार्य भने शर्मा, शैलुङले गर्ने भएको छ । जुन तयार हुने अवस्थामा छ ।

सो सडक कालोपत्रेका लागि १ अर्ब ७० करोडको ठेक्का सम्झौता भएको छ भने खर्च पनि ६० प्रतिशत भइसकेको उनले बताए ।

आर्थिक वर्ष २०७५÷७६ को साउन १० गते देखि कालोपत्रे तथा विस्तार सुरु गरिएको सो सडकखण्ड यसै आवको जेठमा सकिने आयोजनाले जनाएको छ ।

आयोजनाको योजना भने सडक विस्तार र कालोपत्रे रहे पनि त्यो हाललाई सम्भव नभएको उनले बताए । जग्गाको मुआब्जा वितरण गर्न नसक्दा हाल सडक विस्तार र विस्तार पछिको कालोपत्रे काम गर्न नसकिएको हो, उनले भने ।

साउन १० गते मन्त्रिपरिषद बैठकले हाललाई सो सडकखण्डमा सडकका लागि जति जग्गा उपलब्ध छ त्यसमा विस्तार तथा कालोपत्रे गर्नु भन्ने निर्णय भई सडक विभागलाई निर्देशन आएसँगै त्रिपुरेश्वर–कलङ्की –नागढुङगा सडक खण्ड कालोपत्रे गर्न लागिएको हो ।

धूवाँधूलोका कारण स्थानीय तथा यात्रा गर्नेलाई असहज भो भन्ने लगायतका गुनासोको कारण पनि सडक कालोपत्रे गर्नुपर्ने देखिएको आयोजनाको भनाई छ ।

सडक विस्तार किन हुन सकेन ?

सो सडक खण्डमा मुआब्जा वितरणको काम भने उपत्यका प्राधिकरणले गर्छ । प्राधिकरणले सडक विस्तारको लागि भन्दै सो क्षेत्रका कतिपय स्थानीयलाई घरको मुआब्जा भने वितरण गरिसकेको छ ।

तर, स्थानीयले घरको मुआब्जा सँगै जग्गाको पनि मुआब्जा चाहिने भन्दै सर्वोच्चमा रिट हाले । सर्वोच्चले गत असोजमा जग्गाको मुआब्जा दिनु भन्ने निर्णय ग¥यो ।

तर, सरकारले भने जग्गाको मुआब्जा दिन नसकिने भन्दै हाललाई सडकका लागि जति जग्गा उपलब्ध छ त्यसमा कलोपत्र गर्न लागेको हो ।

त्रिपुरेश्वर कलङ्की नागढुङगा सडकखण्ड विस्तार तथा कालोपत्रको लागि २०७१÷७२ मा ठेकदारसँग निर्माण सम्झौता भएको थियो । सम्झौता अनुसार साढे दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

तर मुआब्जा विवादको कारण ४ वर्षसम्म पनि सडक विस्तारले पूर्णता प्राप्त गर्न सकेको छैन ।


पुष्प दुलाल