काठमाडौं । बजेटमा अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखेका थिए । विज्ञहरुले अर्थमन्त्रीको उक्त लक्ष्य निकै महत्वाकांक्षी भएको बताए ।
अर्थमन्त्री खतिवडाले भने लक्ष्य अनुसारको आर्थिक वृद्धि पूरा गरेरै छाड्ने दाबी गर्दै आएका थिए ।
तर, मंगलबार बजेटको मध्यावधि समीक्षा गर्दै उनले तोकिएको लक्ष्यभन्दा केही कम आर्थिक वृद्धि हुने संसोधित अनुमान गरे ।
सरकारले विकास खर्च गर्न नसक्दाको असर आर्थिक वृद्धिमा परिरहेको छ । अहिलेसम्म सरकारले जम्मा २८ प्रतिशत मात्रै विकास खर्च गरेको छ ।
त्यसको दोष भने अर्थमन्त्रीले आफू लिएनन् । बरु अघिल्लो वर्षको भन्दा बढी खर्च भएको भन्दै सन्तोष व्यक्त गरे ।
‘मध्यावधि समीक्षा गर्दा ३५ प्रतिशत खर्च भएको हुनुपर्छ भन्ने हाम्रो लक्ष्य थियो तर २८ प्रतिशत मात्रै खर्च भएको छ जुन केही कम हो,’ अर्थमन्त्रीले भने, ‘अब खर्च बढ्छ ।’
करिब ५० अर्ब रुपैयाँ बजेट कम खर्च हुने अर्थमन्त्रीको संसोधित अनुमान छ ।
अर्थमन्त्रीले भने, ‘हामीले ८ प्रतिशत भनेका थियौं तर ७ देखि ८ प्रतिशत हुन्छ, माग अनुसारको ऋण बैंक तथा वित्तीय संस्थाले दिन सकेको भए ८ प्रतिशत आर्थिक वृद्धिदर सहजै प्राप्त हुन सक्थ्यो ।”
उनले खर्च गर्ने क्षमता भएका आयोजनालाई थप बजेट उपलब्ध गराइने भए पनि खर्च नभएका आयोजनाबाट रकमान्तर गरिने स्पष्ट पारे । आगामी महिनासम्ममा व्याजदरमा देखिएको समस्या समाधान हुने उनको विश्वास थियो ।
केही सम्पन्न भएको आयोजनामा भुक्तानी नहुँदा पनि पूँजीगत खर्च कम देखिएको भन्दै उनले बढी बजेट भएका मन्त्रालय र निकायसँग नियमित रुपमा छलफल गरी समस्याको निरुपण गर्नेतर्फ लागिएको बताए ।
उनले विदेशी मुद्रा सञ्चिती रित्याएर राजश्व बढाउन नचाहेको स्पष्ट पारे । गत पुस मसान्तमा लक्ष्यभन्दा केही कम राजश्व उठेको भए पनि बढाउन थप केही गर्न पनि सकिने भए पनि आफूले त्यस्तो नगरेको बताए ।
अर्थमन्त्रीले वित्तीय सङ्घीयता कार्यान्वयनको सङ्क्रमणकाल अझै पनि नसकिएको भन्दै समग्र आर्थिक सूचकले देखाएको बाटो भने सन्तोषप्रद रहेको बताए ।
प्रतिक्रिया