सूर्यविनायक-धुलिखेल सडक सुरुङमार्गमा सरकार र जाइकाबीच विवाद, सडक विस्तार अन्यौलमा



काठमाडौं । साँघामा सुरुङ निर्माण गर्ने विषयलाई लिएर सरकार र जापानी सहयोग निकाय जाइकाबीच विवाद उत्पन्न भएपछि सूर्यविनायक-धुलिखेल सडकखण्ड विस्तारको काम सुरु हुन सकेको छैन ।

अरनिको राजमार्ग अन्र्तगत १५ किलोमिटर लामो सो सडक खण्ड विस्तारका लागि जाइकाले सरकार समक्ष प्रारम्भिक प्रतिवेदन पेश गरिसकेको छ । स्रोतका अनुसार प्रतिवदेन अनुसार साँघामा दुईवटा सुरुङ निर्माण गर्नु पर्नेछ ( सवारी साधन आउने र जाने गरी दुईवटा लेनमा) ।

तर सरकारले भने लागत धेरै हुने भन्दै सुरुङ निर्माणको लागि तयार नहुँदा सडक निर्माण सुरु हुन नसकेको हो ।

‘जाइका र नेपाल सरकारबीच अन्य सम्झौता भएपनि आर्थिक सम्झौता हुन सकेको छैन, जसले गर्दा निर्माण सुरु हुन नसकेको हो’ स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

जाइकाले सरकारलाई प्रस्तुत गरेको प्रतिवेदन अनुसार साँघामा ६१३ र ६२३ मिटर लम्बाई रहेको सुरुङ रहने छ । जाइकाले त्यहाँको साँस्कृतिक तथा पुरातात्वकि महत्वको सामग्री नबिग्रियोस् भन्नका लागि सो सुरुङको डिजाइन गरेका हो ।

तर, सरकारले भने सुरुङ निर्माणको बजेट धेरै भएको भन्दै जाइकासँग आर्थिक सम्झौता गरेको छैन । सरकारले सुरुङ निर्माण बारे निर्णय निर्णय मात्रै होइन, वैकल्पिक उपायको बारेमा समेत कुनै जानकारी दिएको छैन ।

जाइकाको प्रतिवदेन अनुसार सुरुङ निर्माणको लागि १२ अर्ब लाग्ने जनाएको छ । सम्पूर्ण आयोजना निर्माणको लागत भने ४० अर्बको रहेको छ । विस्तार गरिएसँगै सूर्यविनायक-धुलिखेल सडक ६ लेनको हुनेछ ।

सरकारले सडक निर्माणका लागि ०.२ प्रतिशत ब्याजदरमा जापान सरकारले ऋण दिने र उक्त ऋण ४० वर्षमा फिर्ता गर्नुपर्ने हुन्छ । ब्याजदर पनि कम र फिर्ता गर्नुपर्ने समय पनि लामो भएको हुदाँ यो एक किसिमको अनुदान सरह नै हो ।

सूर्यविनायक–धुलिखेल विस्तारको जिम्मा भने सडक विभागले धुलिखेल-सिन्धुली-बर्दिबास आयोजनालाई नै दिएको छ । सो आयोजनाले सरकार र जाइकाबीच सम्झौता नहुदाँ कुनै काम अघि बढाउन नसकेको जनाएको छ ।

हाल सो सडक खण्डमा ट्रयाक खोल्ने काम भइरहेको छ । सो काम भने भक्तपुर सडक डिभिजन कार्यालय र भक्तपुर नगरपालिकाले गर्दै आएको आयोजना प्रमुख सुर्यबहादुर भट्टले बताए । उनले सो क्षेत्रमा काम गर्नका लागि कुनै नआएको बताए ।


पुष्प दुलाल