काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले पूर्वअर्थमन्त्री डा रामशरण महतलाई असफल बन्नबाट रोकेका छन् ।
जेठ १५ मा बजेट ल्याएपछि अर्कोदिन अर्थमन्त्री डा युवराज खतिवडा पूर्वअर्थमन्त्री डा रामशरण महत आफ्नो गुरुपनि भएको भन्दै उहालाई असफल नबनाउनको लागि ७.९ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने बताएका थिए ।
अर्थमन्त्री खतिवडाले बजेट सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक बृद्धिदर हासिल हुने लक्ष्य लिएका थिए । पूर्वअर्थमन्त्री महतले ८ प्रतिशतको आर्थिक बृद्धिदर हासिल भएमा आफु असफल हुने टिप्पणी गरेका थिए ।
महतको भनाईमाथि टिप्पणी गर्दै अर्थमन्त्री खतिवडाले पत्रकार सम्मेलनमा भनेका थिए, ‘डा महत मभन्दा धेरै सिनियर हो, म उहाँलाई आधार गर्छु, उहाँलाई असफल नबनाउन आर्थिक बृद्धिदर ७.९ प्रतिशत हासिल गरौला।’
बजेटको मध्यावधी समिक्षा सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षमा ७ देखि ८ प्रतिशतको बीचमा आर्थिक बृद्धिदर हासिल हुने बताए ।
‘बैंकले माग अनुसारको ऋण दिन सकेको भए ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य सहज पुरा हुने थियो,’ खतिवडाले भने ।
मंगलबार आयोजना भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले ८ प्रतिशतको आर्थिक बृद्धिदर नहुने कुरा स्वीकार भने गरेका छन् । अर्थमन्त्री खतिवडाले चैतमा तथ्यांक विभागले यो विषय सार्वजनिक गर्ने बताए ।
अर्थमन्त्री खतिवडाले पूर्वअर्थमन्त्री महतलाई असफल बनाउन नदिन व्यङ्ग्यात्मक रुपमा ७.९ प्रतिशत आर्थिक बृद्धिदर हासिल गर्ने बताएपनि आर्थिक बृद्धिदर ७ प्रतिशत मात्र हुने प्रक्षेपण सहितको प्रतिवेदन केन्द्रीय तथ्यांक विभागले सरकारलाई दिएको छ ।
प्रतिक्रिया