१६ वर्षमा १०७ वटा मदिरा उद्योग थपिए, कुन जिल्लामा कति ?



काठमाडौं । भोजहरुमा मदिरा अनिवार्य जस्तै हुन थालेपछि पछिल्ला दशकमा यसको माग उच्च छ । मदिरा सेवन गर्ने नेपालीहरुको संख्या बढेसँगै मदिरा उद्योग पनि थपिएका थपियै छन् ।

कम्पनी रजिष्ट्ररको कार्यालयमा १६ वर्षको अन्तरालमा १०७ वटा वाइन अर्थात् रक्सी कम्पनी दर्ता भएका छन् । कार्यालयका अनुसार २०५९ फागुन देखि २०७५ माघमसान्तसम्म १०७ वटा कम्पनी दर्ता भएका हुन् ।

यस्तै यस आर्थिक वर्ष २०७५/७६ माघमसान्तसम्म भने पाँचवटा वाइन कम्पनी स्थापना भएका छन् । धनगढी, धादिङ, रौतहट, मोरङ, मुस्ताङ जिल्लामा गरी पाँचवटा वाइन कम्पनी स्थापना भएका हुन् ।

हालसम्म तथा यस आवमा दर्ता भएका कम्पनीहरु मध्ये केही संख्यामा मात्र मुनाफा वितरण नगर्ने कम्पनीहरु रहेका छन् भने अत्याधिक संख्यामा भने बहुल तथा निजी कम्पनीहरु रहेका छन् ।

यस्तै १०७ मध्ये आव २०७१/७२ देखि २०७५/७६ अर्थात् पाँचवर्ष (माघमसान्त) मा भने ५२ वटा वाइन कम्पनी स्थापना भएका छन् ।

पाँचवर्षको समयमा आव २०७२/७३ मा सबैभन्दा बढी वाइन कम्पनी दर्ता भएको कार्यालयले जनाएको छ । सो आवमा १५ वटा वाइन कम्पनी स्थापना भएको छ । जसमध्ये ललितपुर, सुनसरी र काभ्रे जिल्लामा क्रमश एक-एक वटा तथा काठमाडौंमा भने १२ वटा वाइन कम्पनी स्थापना भएका हुन् ।

आव २०७४/७५ मा ९ वटा वाइन कम्पनी दर्ता हुदाँ आव ७३/ ७४ मा भने ११ वटा वाइन कम्पनी दर्ता भएका छन् । ७४/७५ मा रामेछाप, इलाम, काभ्रेमा एक–एक वटा र काठमाडौंमा भने ७ वटा वाइन कम्पनी दर्ता भएका छन् भने ७३/७४ मा पर्सा, सर्लाही, धनकुटा, मकवानपुर, कालिकोट, झापामा क्रमश एक-एक वटा तथा काठमाडौंमा भने ५ वटा वाइन कम्पनी दर्ता भएका छन् ।

यस्तै कार्यालयका अनुसार ०७१/७२ मा भने १२ वटा वाइन कम्पनी स्थापना भएका छन् । जसमध्ये भक्तपुर काभ्र, नवलपरासीमा एक–एक वटा तथा मकवानपुर २, धनुषा २, काठमाडौं २ तथा धनकुटामा ३ वटा वाइन कम्पनी स्थापना भएका छन् ।

दर्ता भएका मध्ये सबैभन्दा बढी दर्ता संख्या भने काठमाडौं जिल्लामा रहेको छ ।


पुष्प दुलाल