काठमाडौं । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीसहित सात जनाको निधन भयो ।
उक्त निधनसँगै पर्यटन मन्त्री अधिकारीको सन् २०२० मा नेपालमा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य अधुरै बनेको छ । सन् २०२० मा नेपालमा २० लाख पर्यटन भित्र्याउन सरकारी तवरबाट धेरै प्रयास भएको मन्त्री अधिकारीले बताउने गरेका थिए ।
उनले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको र त्यो लक्ष्य पुरा गर्ने तयारीमा उनी थिए ।
सन् २०१८ मा नेपालमा १२ लाख पर्यटकले भ्रमण गरेको हुनाले थप दुई वर्षका आठ लाख पर्यटनक थपेर २० लाख पुर्याउने लक्ष्य अधिकारीको रहेको थियो । दुर्घटनामा निधन भएसँग उनको लक्ष्य अधुरै बनेको छ ।
सन् २०११ मा पर्यटन वर्ष मनाइएको थियो । त्यो वर्ष नेपालमा १० लाख पर्यटक भित्र्याउने सरकारको योजना थियो । त्यो योजना २०११ मा मात्र पुरा हुन सकेन । त्यसयता पनि नेपालमा १० लाख पर्यटक नेपालमा भित्रीएका थिएनन् ।
तर २०१८मा १२ लाख पर्यटक भित्रीएपछि मन्त्री अधिकारीसहितले नेपाल पर्यटन बोर्डमा खुसी साँट्दै केक काटेका थिए ।
उनले आफ्नो लक्ष्य पुरा गर्नका लागि सन् २०१९ को अगष्टसम्ममा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट परीक्षण उडान गर्ने र सन् २०२० सम्ममा पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण सक्ने तयारीमा लागेका थिए ।
यी दुई विमानस्थल निर्माणपछि नेपालमा आउने बाह्य पर्यटकको संख्या बढने उनको आशा थियो । दुई अन्तर्राष्ट्रिय विमानस्थ बनाउने र चालु आवदेखि देशका विभिन्न नौ वटा विमानस्थलमा रात्रि उडान सुरु गर्ने पनि बताउँदै आएका थिए ।
त्यसैगरी,उडान नभएका २९ वटा विमानस्थल पनि चालु आवदेखि नै सञ्चालनमा ल्याउने गरी काम हुने जानकारी गराउँदै आएका थिए ।
देशमा पर्यटक ल्याउनका लागि हवाईमार्गको पनि भूमिका महत्वपूर्ण हुने भन्दै मन्त्री अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा पनि निकै चासो देखाएका थिए ।
अधिकारीको यी योजना बुधबारको हेलिकप्टर दुर्घटनाले असफल बनाएको छ ।
मन्त्री अधिकारीले सन् २०२० सम्म २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएका थिए । तर उनको पार्टी तत्कालीन नेकपा एमालले स्थानीय तहको निर्वाचनको समयमा सार्वजनिक गरेको घोषणापत्रमा १० वर्षमा ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो ।
त्यो लक्ष्य पुरा गर्ने जिम्मेवारी मन्त्री स्व. अधिकारीको काँधमा आएको थियो, जुन अधुरै रह्यो ।
प्रतिक्रिया