विदेशी लगानीकर्तालाई एकै ठाउँबाट सेवा दिन ‘एकल बिन्दु सेवा केन्द्र’, त्यहाँबाट के सुविधा पाइन्छ ?



काठमाडौं । विदेशी लगानीकर्ताले उद्योग सञ्चालन गर्नका लागि विभिन्न सरकारी कार्यालय धाउनु पर्ने स्थितिको अन्त्य गर्ने तयारीमा सरकार लागेको छ ।

यो सँगै विदेशी लगानीकर्तालाई ध्यानमा राख्दै सरकारले एकै स्थान अर्थात् ‘एकल बिन्दु केन्द्र’ मार्फत् सम्पूर्ण सेवाहरु उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषदले पारित गरेर संसदमा प्रस्ताव गरिएको ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५’ मा यस्तो व्यवस्था गरिएको हो ।

विधेयक अनुसार विदेशी लगानीकर्ताले उद्योग दर्ता, लगानी तथा ऋण स्वीकृति, कम्पनी दर्ता तथा कम्पनी प्रशासन, श्रम स्वीकृति ,भिसा सुविधा लगायतकासेवाहरु केन्द्र मार्फत् प्राप्त गर्ने छन् ।

‘नेपाल सरकारले विदेशी लगानीकर्तालाई यस ऐन तथा प्रचलित अन्य कानून बमोजिम प्रदान गरिने छुट, सुविधा, सहुलियत वा सेवाहरु एकल बिन्दु सेवा केन्द्र मार्फत् उपलब्ध गराउने गरी आवश्यक व्यवस्था मिलाउन सक्नेछ,’ विधेयकमा भनिएको छ ।

यसअघि विदेशी लगानीकर्ताहरु उधोग दर्ता, विदेशी लगानी तथा ऋणको स्वीकृति, कम्पनी दर्ता तथा कम्पनी प्रशासन, श्रम स्वीकृति, भिसा सुविधा लगायतको सेवा लिनका लागि विभिन्न सम्वन्धित मन्त्रालय अन्तर्गतका निकाय जानु पर्ने अवस्था थियो ।

यसअघि विदेशी लगानीकर्ताहरु विभिन्न निकायमा जानुपर्ने तथा सरकारी कर्मचारीको ढिलासुस्तीका कारण विदेशी लगानीकर्ता आर्कषित हुने भन्दा विर्कषण हुने देखिन्थ्यो ।

२०७२÷७३ एकल विन्दु सेवा केन्द्र सञ्चालन गर्ने भनिए पनि हालसम्म सञ्चालन हुन सकेको थिएन । यो समयमा विभिन्न सरकार बने पनि सो केन्द्र सञ्चालनलाई पूर्णता दिन सकेका थिएनन् ।

यसअघिका सरकारले जस्तै वर्तमान सरकारले पनि केन्द्र सञ्चालनमा आए पछि विदेशी लगानी कर्ता बढ्ने अपेक्षा राख्दै आएको छ । हाल उधोग विभागमा निर्माण भइरहेको भवनमा सो केन्द्र सञ्चालन हुने विभागका निर्देशक जीवनराज सेढाईले बताएका छन् ।

विधेयकले विदेशी लगानी भएका उधोग वा विदेशी लगानीकर्तालाई प्रदान गरिने छुट, सुविधा र सहुलियत समेत प्रदान गर्ने भएको छ ।

विधेयकमा भनिएको छ, ‘विदेशी लगानी भएका उधोगलाई प्रचलित कानून बमोजिम रुग्ण उद्योगले पाउने सेवा सुविधा उपलब्ध हुने छ ।’

यस्तै उद्योगले नेपालका कुनै वाणिज्य बैंकमा परिवत्र्य विदेशी मुद्रा, नेपाली मुद्रा वा दुवै मुद्रामा खाता खोली करोबार गर्न सक्ने लगायतका विविध छुट, सुविधा र सहुलियत प्रदान गरेको छ ।


पुष्प दुलाल