‘लगानी सम्मेलन पूर्वको बेलायत भ्रमण उपलब्धि मूलक’



काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडा बेलायतमा आयोजना तीन दिने लगानी सम्मेलन पूर्वको कार्यक्रम सम्पन्न गरी स्वदेश फर्किएका छन् ।
नेपालमा लगानी भित्र्याउनका लागि बेलायतमा भएका दर्जन बढी कार्यक्रम सफल भएको बताइएको छ ।

बेलायती अन्तर्राष्ट्रिय आर्थिक सहायता राज्यमन्त्री तथा हाउस अफ लडर्सका सदस्य लर्ड बेट्ससँग बेलायतको हाउस अफ कमन्समा भेटघाट भएको थियो ।
भेटमा लर्ड बेट्सको जिज्ञासामा मन्त्री खतिवडाले भूकम्पपछिको पुनर्निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी गराए ।

नेपालको सङ्घीय संरचनामा भएमा भएका प्रगति एवम् नेपालले समावेशिता सम्बन्धमा हासिल गरेका उदाहरणीय उपलब्धिबारेमा जानकारी पाउँदा मन्त्री लर्ड उत्साहित भएको बताइएको छ । नेपालको विकास र समृद्धिको लागि बेलायत सरकार जस्तोसुकै संयोग गर्न पनि प्रतिबद्ध रहेको बताएका थिए ।

सिटी अफ लन्डनका मेयरले लन्डनस्थित ठुला लगानीकर्ताहरूको सहभागितामा आयोजित कार्यक्रममा करिब चार ट्रिलियन डलर लगानी गर्न समूहमै उत्साह व्यक्त गरेका थिए । कार्यक्रममा नेपालको सोभर्जिन रेटिङ गर्न अत्यन्तै आवश्यक भएको धारणा राख्दै वित्तीय क्षेत्रका नयाँ उपकरणहरूको नेपालमा प्रयोग गर्न समेत सहभागीहरूले सुझाव दिएका थिए ।

स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको केन्द्रीय कार्यालयमा भएको बैठकमा दिर्घकालीन बोण्डहरु जारी गरी दीर्घकालीन पुँजी निर्माण गर्न आवश्यक पर्ने प्राविधिक लगायत सम्पूर्ण सहयोग गर्न बैङ्क सधैँ तत्पर रहेको धारणा व्यक्त गरेको थियो । नेपाल सरकार, डिएफआइडि, स्टाण्डर्ड चार्टर बंैंकसमेतको सहकार्यमा विधि कार्य अघि बढाउने सहमति भयो ।

नेपालको एनएमबी बैङ्कसँग सहकार्य सुरु गरी सकेको कमनवेल्थ डेभल्पमेन्ट कर्पोरेसनको मुख्य कार्यालयमा कर्पोरेसनका अध्यक्ष एवम् प्रमुख कार्यकारीको सहभागितामा भएको भेटमा नेपालका विकास कार्यक्रममा यथाशक्य सघाउने उनीहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।

लन्डनस्थित नेपाली राजदूतावासमा आयोजित नेपाल डेभलपमेन्ट कन्फरेन्समा बेलायतलगायत युरोपका विभिन्न मुलुकका उद्योगी व्यवसायी तथा गैर आवासीय नेपालीहरूको सहभागिता भएको थियो । दुई सयभन्दा बढीको सहभागिता रहेको सो कार्यक्रममा सम्भाव्य लगानीकर्ताले नेपालमा लगानीको सम्भावना र सुधारहरूबारेमा चासो व्यक्त गरेका थिए ।

नेपालमा सञ्चालनमा रहेका साना–साना व्यवसायीहरूले पनि आधुनिक किसिमले कसरी ठुला उद्यमी बन्न सकिन्छ र थोरै पुँजीले रोजगारी सृजना गरी अन्तर्राष्ट्रियस्तरमा बजारको पहुँच विस्तार गर्न सकिन्छ भन्ने बारेमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा बेलायती सांसदका शीर्ष व्यक्तित्व, हाउस अफ लर्ड्सका सांसद, सरकारका उच्च पदस्थ प्रतिनिधिले नेपालको विकास, लगानी र समृद्धिका बारेमा चासोका साथ सहभागी भएका थिए । सो बृहत् सम्मेलनमा अर्थमन्त्री खतिवडाले नेपालमा लगानी बोर्डलाई थप शसक्त्त एवम् गतिशील बनाउन कानुन परिर्माजन गरी सो संस्था मार्फत लगानीकर्तालाई एकद्धार सेवा प्रवाह हुने बताए ।

उनले कानुनी तथा नीतिगत सुधार, लगानीका सम्भावित क्षेत्र, सरकारका प्राथमिकता, नेपाल लगानीका प्रतिफललगायतका हिसाबले कसरी लगानीको लागि तुलनात्मकरुपमा उत्कृष्ट गन्तव्य बन्न सक्छ भन्ने विषयमा प्रस्ट पार्दै सो अवसरको लाभ लिन बेलायती, युरोपेरी तथा तथा गैरआवासीय नेपाली लगानीकर्तालाई आव्हान गरे ।

ब्रिटेन नेपाल सोसाइटीले बेलायती राजकुमारको प्रमुख आतिथ्यमा आयोजना गरेको कार्यक्रममा उपस्थित तीन सयभन्दा बढी सहभागीलाई नेपालमा लगानी गर्न आव्हान गरे । बेलाएमा रहेका बेलायतीहरू नेपालमा आएर कुनै न कुनै रूपमा सहभागी भएका, नेपालमा सहयोग गरेका र नेपालको माया गर्ने सयौँ बेलायतीसँग छलफल हुनु आफैमा सकारात्मक भयो ।

गैर आवासीय नेपाली सङ्घ, युकेले आयोजना गरेको कार्यक्रममा अहिले सम्मका काम र हामीले अघि बढाउन थालेका विकासका एजेण्डाहरु गैर आवासीय नेपालीहरूले नेपालको विकासमा गर्न सक्ने योगदानबारे छलफल भएको थियो । उनीहरूले नेपालमा आएर लगानी गर्ने आफ्नो इच्छा रहेको प्रतिबद्धता व्यक्त गरे ।

नेपालमा लगानी गर्न इच्छा भएका व्यक्ति एवं संस्थाहरूको सहभागिता गराइ ब्रिटिस एक्सपर्टिज इन्टरनेशनले आयोजना गरेको कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो । सम्भाव्य लगानी कर्तासङ नेपालमा भएका निजी लगानीका क्षेत्रहरू जानकारी दिनुका अतिरिक्त सार्वजनिक निजी साझेदारी सम्बन्धी हाम्रो पछिल्लो नीतिका साथै नेपालमा लगानी गर्दा पाउने प्रतिफलबारे छलफल भयो ।

हामीले बेलायत सरकारसँग दोहोरो कर मुक्त सम्झौता सम्बन्धी छलफल समेत । सो सम्बन्धमा दुई सरकारबीच हालसम्म भएका प्रगति र अब सहमतिका लागि सुल्झाउनु पर्ने विषयहरू समेत छलफल भयो । अब छिट्टै नै थप वार्ता गरी यसलाई टुङ्गोमा पु¥याउने समझदारी भयो । लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सले आयोजना गरेको कार्यक्रममा नेपालले अङ्गीकार गरेको वित्तीय सङ्घीयता सम्बन्धी जानकारी गराए ।

बेलायत स्थित नेपालीसँग शिक्षाको क्षेत्रमा लगानी गर्न चाहने धेरै संस्थासँग विभिन्न चरणमा छलफल भए । जसमा उच्च शिक्षाको क्षेत्रमा प्राविधिक, वैज्ञानिक, अनुसन्धानमूलक र सीप विकास गर्ने क्षेत्रमा कसरी सहकार्य गरेर उच्च शिक्षामा बेलायती संस्थालाई गुणस्तरीय शिक्षा र सीप प्रदान गर्न सहयोगी बन्न सक्छ भन्ने विषयमा त्यहाँका शैक्षिक लगानीकर्तासँगको छलफल उपलब्धिमूलक भएको बताइएको छ ।


क्लिकमान्डु