विरोधमा रहेका लगानीकर्ता प्यानको पक्षमा, समय थप्न आग्रह



काठमाडौं । आगामी वैशाख १ गतेदेखि दोस्रो बजारमा सेयर खरिदगर्ने सबै लगानीकर्ताहरुले अनिवार्य स्थायी लेखा नम्बर प्यान लिनुपर्ने भएको छ ।

यसअघि नै अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई प्यान आनिवार्य लागु गर्न भनेपछि बोर्डले त्यसका लागि आवश्यक काम गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई भनेको थियो ।

नेप्सेले पनि सूचना जारी गरेर ब्रोकरहरुलाई प्यान सहजीकरण डेक्स राख्न निर्देशन दिएको छ । उक्त निर्देशनपछि वैशाख १ गतेबाट प्यान अनविार्य लागु हुने भएको छ । यो लागु गर्ने भएपनि अहिले बजार घटेको समयमा स्थगीत गरेर केही समयपछि मात्र लागु गर्न लगानीकर्ताहरुले धितोपत्र बोर्ड, नेप्सेलाई आग्रह गरेका थिए ।

उनीहरुले आग्रह गरेपनि नेप्सेले ब्रोकरहरुलाई दिएको निर्देशनसँगै वैशाख १ गतेबाट प्यान अनिवार्य हुने निश्चित प्रायः भएको छ ।

प्यान लगाउँदा उपत्यकामा खास असर नहुने भएपनि देशका अन्य विकट स्थानमा भने केही असर देखिने लगानीकर्ताहरुको भनाई छ ।

‘प्यान अघि वा पछि जहिले भएपनि लागु हुने नै हो तर सबै लगानीकर्ताहरुलाई यसको बारेमा बुझाएर लाउनु आवश्यक छ’,‘इन्भेस्टर फोरमका वरिष्ठ उपाध्यक्ष छोटेलाल रौनियारले भने,‘यो राम्रो भएपनि सबै ठाँउका लगानीकर्तालाई समस्या हुने भएर नियामक निकायले केही समय थपेको भए राम्रो हुने थियो, प्यान अनिवार्य भनेपछि केही लगानीकर्ताहरुले डराउने गरेएकाले लगानीकर्ताहरुलाई जानकारी गराउनु आवश्यक छ ।’

प्यानको विषय झण्डै दुई वर्षअघि पनि उठेको र त्यो समयमा लगानीकर्ताले बुझ्न समय लाग्ने भएर स्थगित भएको उनको भनाई छ ।

‘पहिला यो विषयमा छलफलहुँदा बजार ओरालो लागेको समयमा प्यान लगाउँदा लगनीकर्ता डराएर झनै बजारमा घट्ने भन्दै केहि समय रोकिएको हो’ उनले भने ‘अहिले बजार घटीरहेको छ, यो समयमा नै लागु गरी हाल्नु भन्दा पनि केही समय थपेर देशभरका लगानीकर्ताहरुले एकै पटक लिने बाताबरण बनाउन आवश्यक छ ।’

यसले बजारमा ठूलै असर नपर्ने भएपन सबै लगानीकर्ताले यसको बारेमा बुझन नसक्दा प्यानिक रहेको बजारलाई असर गर्ने भएकाले नियामक निकायले केही समय थपेर मात्र लागु गर्नु प्रभावकारी हुने उनको तर्कछ ।

अहिले केही लगानीकर्ताहरुले प्यान आएपछि बजारमा ठूलो असर पर्छ, बजार झनै घट्छ भनिरहेपनि बजार बढेको देख्न नचाहनेहरुको आरोप मात्र भएको उनको तर्क छ । प्यान कै कारण बजार घटनु पर्ने अवस्था नभएको रौनियार बताउँछन् ।

प्यानको विषयलाई लिएर लगानीकर्ताहरुलाई नआँत्तिन उनले आग्रह गरेका छन् ।

यता सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुलेल पनि प्यानको विषयले बजारमा कुनै असर नपार्ने बताउँछन् । यसले बजारलाई आगामी दिनमा झनै पारदर्शी बनाउने भएकाले प्यानको विषयमा लगानीकर्तालाई नआँत्तिन उनको आग्रह छ ।

यो ढिला चाँडो लागु हुने नै भएपनि अहिले बजार घटेको समयमा लगाउनु भन्दा सबै लगानीकर्तालाई यस बारेमा बुझाएर केही समय थप गरेर लागु गरेको भए त्यो प्रभावकारी हुने उनको भनाई छ । अहिले नै लागु गर्दा दुरदराजका लगानीकर्ताले लगानी गर्न नपाउने भएर केही समय त्यसको असर बजारमा देखिने उनको भनाई छ ।

केही समय थपेर लागु गर्न सकेको खण्डमा त्यसले कुनै असर नपर्ने भएर समय थप्न नियामक निकायलाई उनको आग्रह छ । प्यानको विषयलाई लिएर अहिले नै बजार घटनुपर्ने कुनै कारण नभएको उनको बुझाइ छ ।

यता नेपाल पुँजी बजार संघकी अध्यक्ष संरक्षणा चौधरी पनि प्यानले लगानीकर्ताहरुलाई नै फाइदा पुग्ने बताउँछिन् । प्यान ठिक भएपनि देशका सबै ठाँउमा वैशाख १ गतेदेखि सम्भव नहुने भएकाले त्यसको समय थप्नुपर्ने संघको धारणा भएको उनी बताउछिन् ।

तत्काल भन्दा पनि यसको बारेमा सबै लगानीकर्ताहरुलाई बुझाएर केही समय पछि यो लागु गर्नु उचीत हुने उनको तर्क छ ।


क्लिकमान्डु