सौराहामा पर्यटन प्रवर्धन गर्न भ्यालेन्टाइनलाई मध्यनजर गरी खाना पर्व शुरु



काठमाडौं । पर्यटन प्रवद्र्धन गर्न पर्यटकीय नगरी सौराहामा १३ औँ सौराहा खाना पर्व (फुड फेष्टिवल) शुरु भएको छ ।

प्रणय दिवसको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसिएशन सौराहाले पर्वको आयोजना गरेको हो । सो अवसरमा प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी, रत्ननगर नगर प्रमुख नारायण वन लगायतले सरकार र व्यवसायीबीचको संयुक्त प्रयासले मात्र सौराहाको विकास सम्भव रहेको बताएका छन ।

सौराहामा रहेको सिसुवार खेल मैदानमा सोमबारदेखि शुरु भएको हो । पर्वमा ५० वटा खाना र पाँचवटा प्रदर्शनी कक्ष रहेको संयोजक ध्रुव गिरीले बताए । पर्वमा विदेशीसहित विभिन्न जातजातीका परम्परागत खाना राखिएको छ । पर्व परिसरमा थारु समुदायको परम्परागत घर बनाएर सो घरबाट चिचर र घोँगी खाने व्यवस्था मिलाइएको संयोजक गिरीले बताए । शुक्रबारसम्म पर्व चल्नेछ । पर्वमा प्रथम मेयर कप भलिबल प्रतियोगिता, रेष्टुरेन्टका कर्मचारीबीच बेटर रेस, प्रेमपत्र लेखन, बालबालिकाबीच बेलुन फुटाउने, उत्कृष्ट खाना, घैला रङ्गाउने प्रतियोगिता गरिने रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।

पर्वबाट भएको आन्दानीबाट वडा नं ५, ६, ७ र ८ का आर्थिक अभावले विद्यालय जान नपाएका बालबालिकालाई शिक्षा प्रदान गर्न कोष निर्माण गर्ने, उज्यालो सौराहा कार्यक्रमलाई निरन्तरता दिने, घुम्ती शौचालन सञ्चालन गर्ने, सौराहाको सरसफाइको लागि पाँच प्रतिशत रकम विनियोजन गरिनेछ । रासस


पुष्प दुलाल