यी २६ वस्तु निर्यात गर्दा नगद अनुदान दिन्छ सरकारले, अनुदान लिन यसो गर्नुहोस्



काठमाडौं । निर्यात प्रवद्र्धन गरी वैदेशिक ब्यापारमा देखिएको असन्तुलन कम गर्न सरकारले विभिन्न २६ वस्तुको निर्यातमा नगद अनुदान दिने निर्णय गरेको छ । मन्त्रिपरिषदले गत पुस २६ गते निर्यात अनुदानका लागि नगद अनुदान सम्बन्धी कार्यविधि पारित गर्दै यस्तो व्यवस्था गरेको थियो ।

निर्यातकर्ताले १५ वस्तुको निर्यातमा ५ प्रतिशत र ११ वस्तुको निर्यातमा ३ प्रतिशत नगद अनुदान पाउने छ । सरकारले पूर्ण स्वदेशी उत्पादन निर्यात गर्दा मात्रै नगद अनुदान दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदले स्वीकृत गरेको निर्यात अनुदानसम्बन्धी कार्यविधि कार्यान्वयनका लागि राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको छ ।
माघ २८ गते परिपत्र जारी गर्दै राष्ट्र बैंकले १० बुँदे निर्देशन दिएको हो ।

वस्तु निर्यात तथा सोको भुक्तानी जुन बैंक कार्यालयमार्फत भएको हो, सोही बैंक कार्यालयमार्फत मात्र नगद प्रोत्साहन उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

निर्यात अनुदान दिनका लागि अर्थ मन्त्रालयले बेलाबेलामा राष्ट्र बैंकलाई रकम उपलब्ध गराउने छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा निर्यात अनुदानका लागि सिफारिस र अनुगमन समिति बनाइएको छ ।


पुष्प दुलाल