१ वर्षमै एनआइसी एशिया बैंकको कर्मचारीमा लगानी १२१ %ले बढ्यो, कुन बैंकले कति बढाए ? (सूचिसहित)



काठमाडौं । बजार सुस्त भएपनि बैंकहरु आक्रमक देखिएका छन् । नयाँ शाखा र बजार विस्तारमा बैंकहरु आक्रमक बन्दा कर्मचारी खर्च ह्वात्तै बढेको छ ।

पछिल्लो दुई वर्ष आक्रमक रुपमा अघि बढेको एनआइसी एशिया कर्मचारी खर्चमा पनि उस्तै आक्रमक देखिएको छ ।

एक वर्षको अवधिमा बैंकको कर्मचारी खर्च १२१ प्रतिशतले बढेको छ । ०७४ पुस मसान्तमा साढे ५५ करोड रुपैयाँ कर्मचारी खर्च गरेको एनआइसी एशिया बैंकले ०७५ पुस मसान्तमा कर्मचारीका लागि १ अर्ब २२ करोड खर्च गरेको छ ।

रकमका आधारमा हेर्ने हो भने एनआइसी एशियाले एक वर्षमा ६७ करोड रुपैयाँले कर्मचारी खर्च बढाएको हो ।  एनआइसी एशिया बैंक निजी क्षेत्रका बैंकहरुमध्ये सबैभन्दा धेरै कर्मचारी खर्च गर्ने बैंक हो ।

बैंकको पोर्टफोलियो बढेपछि त्यसकै अनुपातमा कर्मचारी खर्च पनि बढेको एनआइसी एशिया बैंकका सूचना अधिकारी अर्जुन खनियाँले बताए ।

‘एक वर्षको अवधिमा हामीले १०० वटाभन्दा बढी शाखा विस्तार गरेका छौं, ठूलो संख्यामा कर्मचारी थपेका छौं,’ खनियाँले क्लिकमाण्डूसँग भने, ‘यो अवधिमा हाम्रो पोर्टफोलियो भने ५० प्रतशितभन्दा बढीले बढेको छ । मानव संसाधनमा खर्च गरेकै कारण बैंकको पोर्टफोलियो चमत्कारिकरुपमा बढेको हो ।’

त्यतिमात्रै नभई, बैंकले आफ्ना कर्मचारीहरुलाई आकर्षक सेवा सुविधा दिएकाले पनि कर्मचारी खर्च बढ्दै गएको उनको भनाई थियो ।

त्यसैगरी, दोस्रो धेरै कर्मचारी खर्च बढाउनेमा मेगा बैंक छ । एक वर्षको अवधिमा मेगा बैंकले १०८ प्रतिशतले कर्मचारी खर्च बढाएको छ ।

०७४ पुस मसान्तमा २४ करोड ९२ लाख रुपैयाँ कर्मचारी खर्च गरेको मेगा बैंकले ०७५ पुस मसान्तमा ५१ करोड ८३ लाख रुपैयाँ कर्मचारी खर्च गरेको छ । रकमका आधारमा मेगा बैंकले २६ करोड ९१ लाख रुपैयाँले बढेको हो ।

तेस्रो धेरै कर्मचारी खर्च बढाउनेमा सानिमा बैंक छ । सानिमा बैंकले एक वर्षमा ६०.८२ प्रतिशतले कर्मचारी खर्च बढाएर ५८ करोड १० लाख रुपैयाँ पुर्याएको छ ।

त्यसैगरी, कर्मचारी खर्च बढाउने सूचीमा जनता बैंक चौथो स्थानमा छ । जनताले एक वर्षको अवधिमा ५४.६७ प्रतिशतले बढाएर ०७५ पुस मसान्तमा ५३ करोड ५२ लाख रुपैयाँ कर्मचारी खर्च गरेकोछ ।

माछापुच्छ्रे बैंक पाँचौ स्थानमा छ । माछापुच्छ्रेले एक वर्षको अवधिमा ५२.९६ प्रतिशतले कर्मचारी खर्च बढाएर ०७५ पुस मसान्तमा ६१ करोड २२ लाख रुपैयाँ पुर्याएको छ ।

नेपाल बंगलादेश (एनबी) बैंक छैठौं स्थानमा छ । यो बैंकले एक वर्षको अवधिमा ५१.५८ प्रतिशतले अर्थात् बढाएर ४५ करोड ६३ लाख रुपैयाँ पुर्याएको छ ।

त्यसैगरी, एनएमबि, सिटिजन्स, सिद्धार्थ र लक्ष्मी बैंकले क्रमशः ४८.२१, ४७.९०, ४७.३१ र ४१.२७ प्रतिशतले कर्मचारी खर्च बढाएका छन् ।
सबैभन्दा कम कर्मचारी खर्च बढाउनेमा नेपाल बैंक छ भने कृषि विकास बैंकको कर्मचारी खर्च उल्टै घटेको छ ।

एक वर्षको अवधिमा नेपाल बैंकले ०.३६ प्रतिशतले कर्मचारी खर्च बढेको छ भने कृषि विकास बैंकको ०.९८ प्रतिशतले कर्मचारी खर्च घटेको छ ।

 Bank  Poush 075  Poush 074             Year to year Growth
Prime             355,245       292,255            62,990 21.55%
Century             443,710       327,550          116,160 35.46%
Nepal Bangladesh             456,337       301,061          155,276 51.58%
Laxmi            460,752       326,154          134,598 41.27%
Kumari        461,963       388,385           73,578 18.94%
Citizens             480,122       324,625          155,497 47.90%
Mega             518,387       249,238          269,149 107.99%
Sunrise             521,804       392,677          129,127 32.88%
Janata             535,226       346,053          189,173 54.67%
Nepal Credit & Commerce             551,773       387,509          164,264 42.39%
Sanima             581,081       361,325          219,756 60.82%
Machhapuchchre             612,231       400,262          211,969 52.96%
NMB             679,914       458,740          221,174 48.21%
Siddhartha             715,044       485,402          229,642 47.31%
Nepal SBI             734,718       641,246            93,472 14.58%
Himalayan             753,644       666,848            86,796 13.02%
Global IME             782,875       661,292          121,583 18.39%
Nepal Investment             790,397       644,899          145,498 22.56%
Prabhu             800,493       606,607          193,886 31.96%
Everest             803,858       723,236            80,622 11.15%
Nabil             946,099       765,657          180,442 23.57%
Nepal Bank          1,224,590    1,220,199              4,391 0.36%
NIC Asia          1,226,348       554,708          671,640 121.08%
Agriculture Dev          1,514,568    1,529,546           (14,978) -0.98%


पुष्प दुलाल