बालकुमारीमा लागुऔषध कारोबारी समात्न प्रहरीले गर्यो गोली प्रहार


काठमाडौं । ललितपुरको बालकुमारीमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।

लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले विशेष सूचनाका आधारमा छापा मार्ने क्रममा स्थिति नियन्त्रणमा लिन एक राउण्ड गोली प्रहार गरेको हो।

लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवासचन्द्र बोहोराका अनुसार, ठूलो परिमाणमा लागुऔषधसहित कारोबारीहरू सक्रिय रहेको जानकारी पाएपछि प्रहरीले सो क्षेत्रमा अपरेसन चलाएको थियो।

कारोबारीलाई पक्राउ गर्ने क्रममा अवरोध भएपछि प्रहरीले एक राउण्ड गोली चलाउनुपरेको एसएसपी बोहोराले जानकारी दिए।

घटनामा कोही घाइते भए-नभएको बारे आधिकारिक जानकारी आइसकेको छैन। प्रहरीले घटनास्थलबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको दाबी गरे पनि त्यसको यकिन विवरण र पक्राउ परेका व्यक्तिहरूको पहिचान भने खुलाइएको छैन।

अहिले प्रहरीले घटनास्थललाई घेरा हाली थप अनुसन्धान अगाडि बढाएको छ। बरामद लागुऔषधको नापतौल र घटनाको विस्तृत विवरण केही समयपछि सार्वजनिक गरिने ब्यूरोले जनाएको छ।