अर्थमन्त्रीको दबाबमा अध्यक्ष परिवर्तन गरेपछि पूर्वाधार विकास बैंकले लाइसेन्स पायो



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको दबाबमा अध्यक्ष परिवर्तन भएपछि पूर्वाधार विकास बैंकले लाइसेन्स पाएको छ ।

अर्थमन्त्री खतिवडाले तत्कालीन अध्यक्ष बिमल कोइरालालाई अध्यक्षबाट नहटाएसम्म लाइसेन्स  दिन्न भनेपछि कोइरालालाई अध्यक्षबाट हटाएर अनुज अग्रवाललाई अध्यक्ष बनाइएको थियो ।

नेपाल राष्ट्र बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले पूर्वाधार विकास बैंकलाई लाइसेन्स दिएको हो ।

‘हामी अस्ति नै लाइसेन्स दिने पक्षमा थियौं तर अर्थमन्त्रीज्यूले अध्यक्षबाट बिमल कोइरालालाई नहटाएसम्म लाइसेन्स नदिन दबाब दिनुभएकाले रोकिएको हो,’ राष्ट्र बैंकका एक सञ्चालकले भने ।

यो पनि पढ्नुहोस्– २० अर्बको पुर्वाधार विकास बैंकमा अर्थमन्त्रीको हस्तक्षेप, अध्यक्ष नहटाए लाइसेन्स दिन्न भनेपछि…

२० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको पूर्वाधार विकास बैंकमा निजी क्षेत्रको ९० प्रतिशत र सरकारको १० प्रतिशत लगानी छ ।

२०७२ सालदेखि पूर्वाधार विकास बैंकको अवधारणा तयार पारेका कोइराला अर्थमन्त्रीको दबाबका कारण बैंकबाट बाहिरि पछि लाइसेन्स दिइएको हो ।

केही समय अघि काठमाडौंको क्रिस्चीयन धर्म प्रचार गर्ने उदेश्यले आयोजना गरिएको एशिया प्यासिफिक समिट कार्यक्रममा प्रधानमन्त्री केपी ओली सपत्नी गएर ३ दिनसम्म सोल्टी होटेलमा बसेका थिए ।

त्यतिमात्रै होइन, क्रिस्चीयनको उक्त संस्थाले दिएको १ करोड डलर बराबरको सम्मान पनि प्रधानमन्त्री ओलीले ग्रहण गरेका थिए ।

यो विषयलाई लिएर प्रधानमन्त्री ओलीको ब्यापक आलोचना भएको थियो ।

कोइरालाले पनि सार्वजानिक रुपमै प्रधानमन्त्रीजस्तो गरिमामय पदमा बसेको व्यक्तिले क्रिस्चीयन धर्म प्रचार गर्ने कार्यक्रममा गएर ३ दिन बस्नु हुँदैन थियो भन्दै सार्वजानिकरुपमै आलोचना गरेका थिए ।

स्रोतका अनुसार यसरी कोइरालाले आलोचना गरेपछि प्रधानमन्त्री ओलीले नै अर्थमन्त्रीलाई बोलाएर पूर्वाधार विकास बैंकबाट हटाउन निर्देशन दिएका थिए ।


पुष्प दुलाल