लगानीकर्तामाथि राष्ट्र बैंक कठोर, लगातार ३ कार्यकाल बैंक सञ्चालक हुन नपाइने व्यवस्था गर्न प्रस्ताब



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफियाको संसोधमा बैंकका सञ्चालकहरुलाई पनि कडाइ गर्ने प्रस्ताव गरेको छ ।

एकैव्यक्ति लगातार तेस्रो कार्यकालसम्म बैंकको सञ्चालक हुँदा त्यसले संस्थागत सुशासनमा समस्या ल्याएको भन्दै राष्ट्र बैंकले लगातार २ कार्यकालसम्म मात्रै बैंकको सञ्चालक बन्न पाइने प्रस्ताब गरेको हो ।

अहिले लगातार ३ पटकसम्म पनि बैंकको सञ्चालक बन्न पाइन्छ । तर, राष्ट्र बैंकले तयार पारेको बाफियाको संसोधन मस्यौदामा २ कार्यकाल लगातार बनेपछि एक कार्यकाल ब्रके गरेर मात्रै तेस्रो कार्यकालका लागि सञ्चालक बन्न पाइने प्रस्ताब गरेको छ ।

एकैव्यक्ति लगातार ३ कार्यकालसम्म सञ्चालक हुँदा संस्थागत सुशासनमा समस्या देखिएको छ ।

राष्ट्र बैंकले लगानीकर्तालाई पनि जागिरेलाई जस्तै कार्यकालको सीमाभित्र बाँध्ने प्रयास गरेको हो ।

‘बैंक भनेको अरु बिजनेश गरेजस्तो होइन, एकैव्यक्ति लगातार ३ कार्यकालसम्म सञ्चालक हुँदा संस्थागत सुशासनमा समस्या देखिएको छ,’ राष्ट्र बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘त्यसैले हामीले यो प्रस्ताब गरेका हौं ।’

बैंकको सीइओका लागि ६५ वर्ष र सञ्चालकका लागि ७० वर्षको उमेर हद तोक्ने प्रस्ताव गरेको छ ।

धेरै बुढा मान्छेहरु सीइओ र सञ्चालक हुँदा वित्तीय क्षेत्र प्रतिस्पर्धी बन्न नसक्ने निष्कर्श निकाल्दै यस्तो व्यवस्था गर्न प्रस्ताव गरिएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

राष्ट्र बैंकले बाफियाको संसोधन मस्यौदा तयार पारेर अर्थ मन्त्रालयमा पठाइसकेको छ । अर्थ मन्त्रालयले आवश्वक छलफल गरी कानून मन्त्रालय र मन्त्रिपरिषदबाट स्वीकृत गराएर संसदमा प्रस्तुत गर्छ ।

संसदमा प्रस्तुत भएको विधेयकमाथि संसदीय समितिमा समेत छलफल हुन्छ । त्यसपछि संसदको पूर्ण सदनले पारित गरेपछि त्यसले कानूनको रुप लिन्छ ।

यो बीचमा धेरैपटक संसोधन हुने भएकाले राष्ट्र बैंकले गरेका प्रस्तावहरु जस्ताको त्यस्तै पारित नहुन पनि सक्छन् ।


पुष्प दुलाल