भुक्तानी सन्तुलन जोगाउन अर्को कटौति, वैदेशिक रोजगारीमा जानेले २०० डलर मात्रै साट्न पाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको सटही सुविधालाई कटौति गर्दै लगेको छ । बैदेशिक रोजगारीमा जानेहरुले पाउँदै अमेरिकी डलरसम्म सटही सुविधालाई घटाएर २०० डलरसम्म मात्रै साट्न पाउने व्यवस्था गरेको छ ।

वैदेशिक रोजागारीमा जानेहरुले यसअघि ५०० डलरसम्मको सटही सुविधा पाउँदै आएका थिए ।

‘सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापद अधिकतम २०० अमेरिकी डलरसम्म मात्र सटही सुविधा उपलब्ध गराउनुपर्ने छ,’ राष्ट्र बैंकले मंगलबार जारी गरेको परिपत्रमा उल्लेख छ ।

चालू आर्थिक वर्षको शुरुवाती महिनादेखि देशको भुक्तानी सन्तुलत लगातार डरलाग्दो किसिमले ऋणात्मक हुन थालेपछि डलरको सटही सुविधामा राष्ट्र बैंकले कडाइ गरेको हो ।

यसअघि नै विदेश घुम्न जाने नेपालीले पाउँदै आएको प्रतिव्यक्ति २५०० डलरसम्मको सटही सुविधालाई १५०० डलरमा झारेको थियो ।

‘भुक्तानी सन्तुलन ऋणात्मक हुँदै गएपछि र अडरको सञ्चिती घट्दै गएपछि हामीले डलरको सटही सुविधालाई कटौति गरेका हौं,’ राष्ट्र बैंकको बैदेशिक मुद्रा विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले क्लिकमाण्डूसँग भने ।

बैदेशिक रोजगारीमा जानेहरुलाई ५०० डलर आवश्यक नपर्ने उनको भनाई छ ।

‘डलरको सञ्चिति पर्याप्त हुँदा हामीले पनि खासै वास्ता गरेका थिएनौं, जसकारण यो सुविधाको दुरुपयोग पनि भइरहेको थियो,’ ढुंगानाले भने, ‘अहिले डलर पर्याप्त छैन । त्यसैले टालटुट पार्न खोज्दा कटौति गर्नु परेको हो ।’

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा देश भित्रिने भन्दा बाहिरिने रकम ८५ अर्ब रुपैयाँले ऋणात्मक छ । यसरी ठूलो परिणममा भुक्तानी सन्तुलन घाटामा गएपछि सरकारको समेत टाउको दुखाइको विषय बनेको छ ।

त्यसैगरी, चालु खाता पनि घाटा १ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ ।

विगतमा विदेशबाट आउने रेमिटेन्सले शोधानान्तरलाई बचतमा लग्ने गरेपनि यो पटक रेमिटेन्सको तुलनामा आयात अत्याधिक हुँदा शोधानान्तर घाटामा गएको हो । जसको कारण देशको विदेशी सन्चितीको रकम समेत घट्दै गएको छ ।

यो निकै नै चिन्ताजनक विषय हो ।

कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तको ११०२ अर्ब ५९ करोडबाट ३.३ प्रतिशतले कमी आई २०७५ मंसिर मसान्तमा १०६५ अर्ब ८० करोड रहेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तको १० अर्ब ८ करोडबाट ७.९ प्रतिशतले कमी आई २०७५ मंसिर मसान्तमा ९ अर्ब २९ करोड रहेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तको ९८९ अर्ब ४० करोडको तुलनामा २०७५ मंसिर मसान्तमा ६६ अर्ब २६ करोड रुपैयाँले कमी आई ९२३ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।


पुष्प दुलाल