तामाकोशीले रच्यो नयाँ इतिहासः एकैदिन एउटा कम्पनीको साढे १२ हजार पटक सेयर कारोबार



काठमाडौं । दोस्रो बजारमा कारोबार हुन थालेको एक हप्तामै माथिल्लो तामाकोशीले नेपालको सेयर बजारमा नयाँ इतिहास कायम गरेको छ । त्यो के हो भने एकैदिन एउटा कम्पनीको सेयर १२ हजार ४ सय ८९ पटक किनबेच ।

अहिलेसम्म कुनै पनि कम्पनीको सेयर एकै दिनमा साढे १२ हजार पटक किनबेच नभएको कालिका सेक्युरिटिजका सञ्चालक नरेन्द्र सिँजापतिले जानकारी दिए ।

‘सामान्यतया नेप्सेमा सूचिकृत कम्पनीहरुको सेयर मात्रै १२/१३ हजार पटक कारोबार हुन्थ्यो । तर, आइतबार माथिल्लो तामाकोशीको १२ हजार ४ सय ८९ पटक कारोबार भएर नेपालको पुँजी बजारमा नयाँ रेकर्ड कायम भएको छ,’ स्टक ब्रोकर एशोसिएशनका पूर्वअध्यक्ष समेत रहेका सिँजापतिले क्लिकमाण्डूसँग भने ।

तामाकोशीका सेयरधनीहरुको संख्या बढी भएकाले र नेप्सेमा सूचिकृत भएदेखि नै यो कम्पनीको सेयरमा अत्याधिक आकर्षण पाइएकाले नयाँ इतिहास कायम भएको हुनसक्ने उनले आँकलन गरे ।

आइतबार मात्रै नेपाल स्टक एक्सचेञ्जमा १ सय ४३ कम्पनीका ११ लाख ५३ हजार ७३ कित्ता सेयर ३६ करोड ४५ लाख ३८ हजार रुपैयाँमा १४ हजार ४ सय पटक किनबेच भएका छन् ।

जसमा माथिल्लो तामाकोशीको मात्रै ७ लाख २९ हजार २ सय ३८ कित्ता सेयर २३ करोड ४३ लाख रुपैयाँमा १२ हजार ४ सय ८९ पटक किनबेच भएका हुन् ।

गत साता मात्रै नेप्सेमा सूचिकृत भएर दोस्रो बजारमा कारोबार हुन थालेको तामाकोशीको सेयर प्रत्येक दिन बढेको थियो । आइतबारको शुरुवाती चरणमा प्रतिकित्ता सेयरमूल्य ३ सय ११ रुपैयाँबाट बढेर ३४३ पुगेको थियो ।

तर पछि घट्न थाल्यो । र, कारोबार बन्द हुँदा घटेर प्रतिकित्ता सेयर मूल्य २ सय ८७ रुपैयाँमा झरेको छ ।


पुष्प दुलाल