नेपालीले भारतबाट १ खर्ब रेमिटेन्स भित्र्याउँदा भारतीयले नेपालबाट ३ खर्ब रेमिटेन्स लगे



काठमाडौं । नेपाली अर्थतन्त्र रेमिटेन्सबाट चलेको छ । यो सबैलाई थाह भएको कुरा हो । नेपालले कात्तिक महिनासम्ममा ३ खर्ब १२ अर्ब रुपैयाँको रेमिटेन्स भित्राएको छ । गत आर्थिक वर्षमा ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिटेन्स भित्राएको थियो ।

तर, नेपाल रेमिटेन्स भित्राउने मात्र देश भने होइन । विश्व बैंकको प्रतिवेदन अनुसार वार्षिक ३ खर्बभन्दा बढी रकम भारतीय नागरिकले नेपालबाट रेमिटेन्सको रुपमा भित्राउने गरेका छन् ।

विश्व बैंकको प्रतिवेदन अनुसार सन् २०१७ मा सबैभन्दा बढी रेमिटेन्स भित्राउने देश भारत हो । भारतले सन् २०१७ मा ६९ अर्ब अमेरिकी डलर रेमिटेन्स मार्फत भित्राएको थियो ।

रकमको आधारमा भारतमा रेमिटेन्स जाने आठौ ठूलो देश नेपाल हो । सन् २०१७ मा भारतमा नेपालबाट ३ अर्ब अमेरिकी डलर रेमिटेन्सको रुपमा गएको छ । जबकी सो वर्ष करिब १ अर्ब अमेरिकी डलर रेमिटेन्सको रुपमा नेपाल भित्रिएको छ ।

विश्व बैंकका अनुसार ६० लाख भारतीय नेपालमा कार्यरत रहेका छन् ।

भारतमा रेमिटेन्स आउने शिर्ष १० देशमा नेपाल पछाडि आर्थिक रुपले बलिया देश देश क्यानडा र अष्ट्रेलिया छन् । जसमा क्यानडामा नेपालमा भन्दा बढी भारतीयले काम गर्छन् भने अष्ट्रेलियामा नेपालमा भन्दा कम ।

मुख्य रुपमा सुनचाँदी,टेलरिङ जस्ता शिल्प देखाउने उद्योगदेखि निर्माण क्षेत्रमा भारतीय कामदारको ठूलो संख्या नेपालमा काम गर्छ । यसबाहेक अनौपचारिक रुपमा हुने स्वउद्यममा पनि भारतबाट आउने कामदारले काम गर्ने गर्छन् ।

नेपालले भित्राउने कुल रेमिटेन्समा करिब ४० प्रतिशत रकम भारतीय नागरिकले यही काम गरेर लग्ने गरेका छन् ।

नेपाल भित्रने रेमिटेन्समा भारतबाट आउने रेमिटेन्स बढी छ । पछिल्लो बैकिङ प्रणालीबाट भारतबाट रेमिटेन्स आउन थालेपछि यो क्रम बढेको हो । अनौपचारिक रुपमा भारतबाट आउने रेमिटेन्स आधारिक तथ्यांकमा गणना हुँदैन । यस्तै भारतबाट नेपाल काम गर्न आएका नागरिकले पनि धेरै रकम अनौपचारिक माध्यमबाट लग्ने गरेका छन् ।

भारतले सबैभन्दा बढी रेमिटेन्स भने युएईबाट भित्राउने गर्छ । विश्व बैंकको तथ्यांक अनुसार भारतपछि विश्वमा रेमिटेन्स सबैभन्दा बढी भित्राउने देशमा चीन पर्छ । चीनले वर्षमा ६४ अर्ब अमेरिकी डलर भित्राउने गर्छ । त्यसपछि फिलिपिन्स ३३ अर्ब डलर, मेक्सिको ३१ अर्ब डलर,नाइजेरिया २२ अर्ब, इजिप्ट २० अर्ब अमेरिकी डलर भित्राउने गर्छन् ।

पाकिस्तानले २० अर्ब अमेरिकी डलर भित्राउने गरेको छ भने भियतनाम १४ अर्ब डलर,बंगलादेश १३ अर्ब डलर र इन्डोनेशिया ९ अर्ब अमेरिकी डलर रहेको छ ।


क्लिकमान्डु