नेप्सेको इन्डेक्स बिग्रेको कि ठीक छ ? यस्तो पनि पत्याउनु ?




काठमाडौं । नेप्से अनलाइन कारोवार प्रणाली शुरूवातसँगै नेप्सेले सार्वजनिक गर्ने तथ्यांक र सूचकमा अनौठो गतिविधि देखिन थालेको छ । केही समय प्रणाली स्थानान्तरणले गर्दा केही प्राविधिक समस्या भएको हो कि भनेर चुपलागेका लगानीकर्ताहरु अहिले कतै नेप्से परिसूचक घटाउने नियोजित षडयन्त्र त होइन भन्ने प्रश्न गर्न थालेका छन् ।

२०७५ मंसिर २६ गते सोल्टी होटेलको कारोवार र दैनिक मूल्य अवस्था सम्बन्धी तथ्यांकले लगानीकर्ताहरुको आशंकालाई सघाएको छ । सोल्टी होटलले आगामी साधारणसभामा लाभांस वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै घोषित १० प्रतिशत बोनस शेयरको मूल्य समायोजन हुनुपर्ने थियो ।

सोही अनुसार नेप्सेले मूल्य समायोजन हिसाव गरेर सोल्टी होटलको समायोजित मूल्य २१२.७३ रुपैयाँ र आधार मूल्य रु. २५५.८६ रहेको एउटा सूचना जारी गर्यो । तर, दैनिक कारोवारको विण्डोमा प्रिभिअस प्राइस भनेर रु. १३० देखियो । यसरी २१२.७३ हुनुपर्ने गत कारोवार मूल्य १३० रुपैयाँ हुँदा उक्त दिन बढेको र घटेको मूल्यहरु सबै गलत हुन पुगे ।

बुक क्लोजपछि सोल्टी होटलको कारोवार २३४ रुपैयाँमा खुलेको र न्यूनतम रु. १९९ रुपैयाँसम्ममा कारोवार भएर अन्तिममा २०६ रुपैयाँमा बन्द भएको नेप्सेले देखाएको छ । जबकि बजार खुल्दा नै २१२ को २ प्रतिशत तलमाथि भएर कारोवार शुरु हुनुपर्ने थियो । तर, नेप्से वा प्रणालीको गडबडीले २३४ रुपैयाँमा कारोवार शुरु भयो । यस्तै गत कारोवार मूल्य पनि २१२.७२ हुनुपर्ने ठाउँमा रु १३० हुँदा मंसिर २६ गते सोल्टीको एकैदिन शेयर मूल्य ७६ रुपैयाँ अर्थात् ५८.४६ प्रतिशतले बढेर सबैभन्दा कमाउने कम्पनीका रुपमा दरियो ।

सामान्य अवस्थामा कुनैपनि कम्पनीको सेयर एकैदिन १० प्रतिशत भन्दा तलमाथि हुँदैन । तर नेप्सेमा सोल्टीको अस्वभाविक मूल्य बढेको देखियो ।

वास्तविकता चाहि उक्त दिन सोल्टिको मूल्य ६ रुपैयाँले घटेको थियो । यसरी होटल उपसमूहमा दबदबा कायम गर्ने सोल्टी होटलको मूल्य ५८ प्रतिशतले बढेको देखाइए तापनि होटल उपसमूहको परिसूचक भने ३७.२७ विन्दु अर्थात् २.१२ प्रतिशतले घटेको देखियो ।

यसले तथ्यांकहरु बीच बेमेल वा प्रणालीमा समस्या उजागार हुनपुगेको छ ।

यस्ता तथ्यांकले नेप्से र सूचकहरुमाथि स्वभाविक प्रश्न उठाएको छ । बुधबार कि त नेप्सेले नियम विपरित सोल्टी होटलको कारोबार गराएको हुनुपर्छ, कि त नेप्सेको इन्डेक्स नै विग्रिएको वा गलत सुचना दिएको हुनुपर्छ ।

मंसिर १२ गते (नोभेम्बर २८) पनि नेप्सेको इन्डेक्समा यस्तै अनौठो तथ्यांक देखियो । सो दिन विकास बैंक समुहको सुचक ९३९ अंकले घटेर ५१७.९ विन्दुमा पुगेको नेप्सेले जानकारी दियो । सो दिन पनि विकास बैंक समुहको सुचक ६४.४७ प्रतिशतले घटेको नेप्सेले देखाएको थियो । यति मात्रै होइन मंसिर २८ गते बढी कमाउने कम्पनीहरुमा पहिलो स्थानमा सोल्टी होटल रहेको नेप्सेले देखाउँछ । नेप्सेले सो दिन सोल्टी होटलको मूल्य ७६ अंकले अर्थात ५८.४६ प्रतिशतले बढेर प्रतिकित्ता २०६ रुपैयाँमा कारोबार बन्द भएको उल्लेख गरेको छ ।

कम्पनीको वास्तविक अवस्था भन्दा नेप्से परिसूचक हेरेर लगानी निर्णय गर्ने लगानीकर्ताहरु यस्तो गलत तथ्यांक र परिसूचकको जालमा पर्ने संभावना उच्च छ । नेप्से केहो र कसरी गणना गरिन्छ ? लगानी कहाँ र कुन कम्पनीमा लगानी गरेको भन्दा पनि नेप्से १८०० र ११०० हेरेर शेयर किनबेच गर्नेहरुले बुधबार सोल्टी होटलको शेयरमूल्य बढेकोमा दंग परेर वा किनबेच गरेमा त्यसको जिम्मेवार को हुने ? नेप्सेले यस्ता गल्ति तत्काल सुधार्ने नगर्ने हो भने लगानीकर्ताहरु गलत सूचनाको जोखिममा उठाउन बाध्य हुनेमा कुनै आशंका छैन ।

के भन्छ नेप्से ?
इन्डेक्समा देखिने यो प्रकारका समस्या समाधानको प्रयास भइरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । कुनै समयमा केही समस्या देखिने गरेको र समस्या देखिने वित्तिकै समाधान गर्ने गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।

‘यदाकदा डिस्प्लेमा यो प्रकारका समस्या देखिने गरेको छ, समस्या देखिने वित्तिकै हामीले समाधान गर्ने गरेका छौं,’ प्रवक्ता पराजुलीले भने ।


क्लिकमान्डु