१२ % बोनस सेयरले नबिलका सेयरधनी निराश, १६ % बोनस सेयरले ग्लोबल आइएमईमा उत्साह



काठमाडौं । सेयर बजारमा मंगलबार दुईवटा वाणिज्य बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरे ।

सबैभन्दा बढी नाफा गर्ने बैंक नबिल बैंकले यो पटक सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश दिने निर्णय गर्यो । वाणिज्य बैंकहरुमा अहिलेसम्म घोषणा भएको लाभांशमा नबिल बैंकले सबैभन्दा बढी लाभांश दिएको हो ।

बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ९ अर्ब रुपैयाँ पुग्ने छ ।

यस्तै ग्लोबल आइएमई बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने घोषणा गर्यो । बोनस सेयर लिनको लागि भने सेयरधनीले यसमा लाग्ने कर भने आफै तिर्नुपर्ने हुन्छ । बोनस सेयरको आधारमा हेर्दा यो वर्ष वाणिज्य बैंकमा सबैभन्दा बढी बोनस सेयर ग्लोबलले दिने प्रस्ताव गरेको छ ।

सेयर बजारमा भने नबिलको १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांशबाट लगानीकर्ता निराश भएको देखिन्छ । नबिलको सेयर मूल्य बढ्ने अनुमान थियो । तर,अहिलेसम्मको कारोबारको आधारले नबिलको सेयर मूल्य बढेको छैन । अहिलेसम्मको कारोबारको आधारले नबिलको सेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँले घटेको छ ।

मार्केट डेप्थ अनुसार बिक्रीभन्दा खरिदको अर्डर बढी छ । अहिलेसम्म ७ हजार ८६८ कित्ता सेयर खरिदको लागि अर्डर छ भने बिक्रीको लागि ५ हजार ८५३ कित्ता सेयर अर्डरमा छ ।

खरिद गर्नेहरु ८५० सम्ममा अर्डर राखेका छन् भने बिक्री गर्नेले ८६६ सम्म अर्डर राखेका छन् ।

अब ग्लोबल आइएमई बैंकको मार्केट डेप्थको कुरा गरौ । ग्लोबल आइएमई बैंकले १६ प्रतिशत बोनस सेयर दिएपछि यसको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँले बढेको छ ।

३० हजार ३९४ कित्ता सेयर खरिदको लागि अर्डर छ भने बिक्रीका लागि २४ हजार ९८५ कित्ता अर्डर छ । खरिद गर्नेहरु न्यूनतम ३१२ सम्म पाएमा लिन तयार छन् भने बिक्री गर्नेहरु बढीमा ३२१ सम्म छ ।


क्लिकमान्डु