मुत्तूट भित्रने भएपछि दुईदिनमा युनाइटेड फाइनान्सको सेयर मूल्य दुईदिनमा साढे १३ प्रतिशतले बढ्यो



काठमाडौं । भारतको मुत्तूट फाइनान्स भित्रने भएपछि युनाइटेड फाइनान्सको सेयर मूल्य दुईदिनमा १३.४९ प्रतिशतले बढेको छ ।

फाइनान्सले मंगलबार साधारणसभाको घोषणा गर्दै मुत्तूट फाइनान्सले प्रतिकित्ता १९० रुपैयाँको दरले २१ लाख कित्ता एफपिओ किन्ने घोषणा गरेको थियो ।

मंगलबार कारोबार खुल्ने समयमा युनाइटेड फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १६३ थियो भने कारोबार बन्द हुने समयमा १७९ रुपैयाँ पुगेको थियो । बुधबार कारोबार बन्द हुँदा यसको सेयर मूल्य १८५ रुपैयाँ पुगेको छ । बुधबार युनाइटेडको २० हजार ९३२ कित्ता सेयर खरिदबिक्री भएको छ ।

फाइनान्सले कात्तिक ३० गते साधारणसभा बोलाएको छ । यसको लागि दर्ता किताब कात्तिक १३ गते बन्द हुने छ । गतवर्षको नाफाबाट फाइनान्सले ५.२६ प्रतिशतले नगद लाभांश दिने छ । मुत्तूट भित्रिएपछि फाइनान्सको चुक्ता पुँजी १ अर्बभन्दा बढी हुने छ । भारतको मुत्तूट फाइनान्स सुन धितो कर्जा दिनेमा भारतमा अग्रणी मानिन्छ ।


क्लिकमान्डु