काठमाण्डौ आइपुगे ५ सय च्याङ्ग्रा, भोलिबाट बिक्री शुरु




काठमाडौं । नेपाल खाद्य संस्थानले ५ सय च्याङग्रा र १ सय ८० खसी काठमाण्डौ उपत्यका ल्याईसकेको छ । आज बेलुकासम्म थप खसीबोका तथा च्याङ्ग्रापनि आइपुग्ने संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए ।

५ सय च्याङ्ग्रा मुस्ताङबाट र १ सय ८० खसी हेटौँडाबाट ल्याइएको हो । च्याङ्ग्रा तथा खसीबोका असोज २६ गते शुक्रबारबाट विक्री वितरण गरिने सापकोटाले बताए । उनका अनुसार यी खसीबोका तथा च्याङ्ग्रा थापाथलीबाट विक्री वितरण हुने छन् ।

संस्थानले दशैँलाई लक्षित गर्दै १ हजार च्याङ्ग्रा र १ हजार खसीबोका ल्याउन लागेको हो । संस्थान मकवानपुरको हेटौंडाबाट ३ सय २० सय खसीबोका र दाङको तुलसीपुरबाट ५ सय खसीबोका काठमाडौंमा ल्याउने क्रममा रहेको छ ।
संस्थानले ३ करोड ४९ लाख ३० हजार रुपैयाँ बजेट बिनियोजन गरी खसीबोका तथा च्याङ्ग्रा ल्याउन लागेको हो ।

हाल संस्थानले खसीबोकाको प्रति केजी मूल्य ५ सय ३० रुपैयाँ र च्याङग्राको मूल्य ७ सय ७० रुपैयाँ प्रस्ताव गरेको छ । गत वर्ष खसीबोकाको बिक्री मूल्य प्रतिकेजी ४ सय ५४ रुपैयाँ रहेको थियो । यस्तै, संस्थानबाट च्याङ्ग्रा ६ सय ७५ रुपैयाँ प्रतिकेजीमा विक्री वितरण भएको थियो ।

बजार नियन्त्रणका लागि खाद्य संस्थानले प्रत्येक वर्ष निजी क्षेत्रको तुलनामा सस्तो मूल्यमा खसीबोका बिक्री वितरण गर्ने गरेको सापकोटाले बताए ।

यो वर्ष खसीबोकाको बजार मूल्यको भन्दा प्रति केजी १० रुपैयाँँ सस्तो हुने सापकोटाले जानकारी दिए । प्रत्येक वर्ष दशँैतिहारको बेला संस्थानले खसीबोका खरिद गरेर राजधानी ल्याउने र बजार मूल्य भन्दा सस्तोमा बिक्री बितरण गर्ने गरेको छ ।

गत आर्थिक वर्ष खसीबोका खरिदका लागि ३ करोड ६३ लाख ४५ हजार रुपैयाँ प्रस्ताव भएको थियो । संस्थानले २ करोड ९० लाख ८६ हजार रुपैयाँ बराबरको खसीबोका तथा च्याङ्ग्रा ल्याउनका लागि खर्च गरेको थियो ।

गत वर्ष संस्थानले २३ हजार ९ सय ७७ केजी खसीबोका बिक्री गरेको थियो । संस्थानले ती खसीबोका बराबर बिक्रीबाट १ करोड ८ लाख ८३ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

संस्थानले गत वर्ष च्याङ्ग्रा १ करोड ८९ लाख ८९ हजार रुपैयाँ बराबरको बिक्री गरेको थियो । गत वर्ष संस्थानले १५ सय खसीबोका, १ हजार वटा च्याङ्ग्रा किन्ने लक्ष्य राखेकोमा खसीबोका ९ सय ७३ र च्याङ्ग्रा ८ सय ९० वटा किनेको थियो ।


क्लिकमान्डु